समय नपुग्दै कर्मचारी सुरुवा नगर्न विभाग र प्रयोगशालाका कर्मचारीहरूको माग

काठमाडौं । औषधि व्यवस्था विभाग तथा राष्ट्रिय औषधि प्रयोगशालाका कर्मचारीहरूले कर्मचारीहरूको मनोवल स्खलन हुने गरि भएका निर्णयहरू प्रतिकुल रहेको जनाएका छन् ।

विभागका ५७ जना कर्मचारीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र दर्ता गराएर विभागका कर्मचारीहरूको सुरुवा र जिम्मेवारी हेरफेरमा भएका मन्त्रालयको निर्णयप्रति ध्यानाकर्षण गराएका हुन् । कर्मचारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत बोर्धाथ दिएका छन् ।

‘विगत केही समयदेखि लगातार औषधि व्यवस्था विभागको नेतृत्व सम्बन्धमा कानून र निजामती सेवा ऐन २०४९ विपरित गर्ने र संस्थागत स्थिरता, विकास र आम कर्मचारीहरूको मनोवल स्खलन हुने गरि भए गरेका निर्णयले समग्र नियमन निकायको प्रभावकारितामा प्रतिकुलता महशुस हुँदै गएको छ’, पत्रमा भनिएको छ ।

‘हामी सबै कर्मचारीको पद सोपानको सम्भावना धुमिल पार्ने, संगठन विकासका प्रयासलाई अलपत्र पार्ने र नियमकारी काम कारवाहीमा नै बिचौलियाको चलखेल बढ्दै जाने परिस्थिति जो सिर्जना गरिएको छ, यो तत्काल रोकिनुपर्छ’, पत्रमा भनिएको छ ।

कर्मचारीहरूले भनेका छन्, ‘संस्थागत स्थिरता, विकास, प्रभावकारिता र कर्मचारी बीच आशाको सञ्चार हुने गरि मन्त्रालयले पुनःविचार गरि जो गर्नुपर्ने सबै निर्णय सादर निवेदन गर्दछौं ।’

‘औषधि व्यवस्था विभागको नेतृत्व परिवर्तन महिना–महिना मै मन्त्रालयबाट हुने संस्कारले गर्दा विभागको काममा अस्थिरता भई कार्यसम्पादनमा अवरोध हुने वातावरण सिर्जना भएको हुँदा विभागको समग्र कार्यहरूमा असर पर्ने र जनस्वास्थ्यमा समेत प्रभाव हुने अवस्था भई रहँदा मन्त्रालयको समेत प्रगतिमा असर गर्छ’, पत्रमा उल्लेख छ ।

‘हाल कोभिडको महामारीमा जनसाधारणमा असर गर्ने हुँदा औषधि व्यवस्था विभागको स्थिरताको लागि मन्त्रालयबाटै पहलकदमी होस् भनि यस विभाग तथा राष्ट्रिय औषधि प्रयोगशालाका सम्पूर्ण कर्मचारीहरूको माग रहेको भनि श्रीमान् समक्ष जानकारी गराउँदछौं’, पत्रमा उल्लेख छ ।

कोरोना महामारीको तेस्रो लहर चलेका बेला औषधि व्यवस्था विभागसहितका निकायमा मन्त्री विरोध खतिवडाले सरुवा गरेपछि कर्मचारीले समय नपुग्दै कर्मचारीको सरुवा गरेको भन्दै विरोध पत्र दर्ता गराएका हुन् ।

Published : Wednesday, 2022 January 19, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया