भैरहवा झरे गृहमन्त्री खाण, शाहले पाए लुम्बिनी कांग्रेस सभापतिको टिकट

भैरहवा । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पार्टीको प्रदेश कार्यसमितिको अधिवेशनको तयारीका लागि भैरहवा आएका छन् ।

सोमबार बेलुका नेता खाण भैरहवा आइपुगेका हुन् । कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन मंसिर १६, १७ र १८ गते हुँदैछ । त्यही अधिवेशनको तयारीका लागि गृहमन्त्री खाण भैरहवा आएको कांग्रेस महाधिवेशन प्रतिनिधि विमल ढकालले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको टिमबाट लुम्बिनी प्रदेशको सभापतिमा नेता भरतकुमार शाहले उम्मेदवारी दिनेछन् । शाहलाई सभापतिमा जिताउनका लागि नेता खाण भैरहवा आएका हुन् ।

नेता शाहले विशेष कार्यक्रम गरेर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् ।

नेता शाह प्रतिनिधि सभाका सांसद पनि हुन् । उनी प्रतिनिधि सभाका सार्वजनिक लेखा समितिका सभापति समेत हुन् । सरल र सामान्य स्वभावका नेता शाह रुपन्देही कांग्रेसका लोकप्रिय नेता हुन् ।

नेता शाहलाई सभापतिमा आफ्नो टिमबाट जिताउनका लागि गृहमन्त्री खाणले आन्तरिक तयारी गरेको नेता ढकालले बताए ।

Published : Monday, 2021 November 29, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया