गोदावरी र बागमतीमा कांग्रेस नेताहरूद्वारा राहत वितरण, चुजी फाउण्डेसनलाई दिए धन्यावाद

देवीचौर । ललितपुरको गोदावरी नगरपालिका र बागमती गाउँपालिकामा कोरोना महामारीबाट समस्यामा परेका जनतालाई चुजी फाउण्डेसन ताइवानले खाद्यान्न सहयोग गरेको छ ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व राज्यमन्त्री उदयशम्शेर राणा र नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनको उपस्थितिमा सोमबार गोदावरी नगरपालिका–७, देवीचौरमा राहत वितरण गरिएको छ ।

गोदावरी नगरपालिका– ७ देवीचौरका सबै र वडा नम्बर ११ मूलडोलको ९८ घरधुरीलाई राहत उपलब्ध गराइएको छ ।

यसअघि, बागमती गाउँपालिकाको वडा नम्बर ३ भट्टेडाँडा, वडा नम्बर ४ प्युटार, वडा नम्बर ५ इकुडोल र वडा नम्बर ७ गिम्दीका पूरै घरधुरीलाई खाद्य सामग्री उपलब्ध गराइएको छ ।

कोन्ज्योसोम गाउँपालिकाको वडा नम्बर १ चौघरेका ५३ घरधुरीलाई समेत खाद्य सामग्री उपलब्ध गराइएको छ ।

फाउण्डेसनले चामल २५ किलोको एक बोरा, पिठो १० किलो, दाल १ किलो, नुन १ किलो, तेल १ लिटर, चना १ किलो, चिनी १ किलो र साबुन ४ पिस वितरण गरेको छ ।

फाउण्डेसनले खाद्यान्न सहयोग गरेको भन्दै कांग्रेसका नेता राणाले धन्यावाद दिएका छन् । उनले कोरोना महामारीका बेला अति विपन्न सर्वसाधारणलाई गरेको सहयोगप्रति आभार प्रकट गरेका छन् ।

कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव महर्जनले फाउण्डेसनले ललितपुरको दक्षिणी भेगका जनतालाई खाद्यान्न सहयोग गरेर उपकार गरेको बताए । आगामी दिनमा पनि समस्यामा परेका जनतालाई सहयोग गर्न फाउण्डेसनसँग आग्रह गरेका छन् ।

फाउण्डेसनका स्थानीय सहयोगी ऋषिदेव फुँयाल, ज्ञानबहादुर लो, रमेशप्रसाद घिमिरे, मुकुन्द विष्ट लगायतको पहलमा खाद्यान्न सहयोग हुँदै आएको छ ।

फाउन्डेसनले आइतबार बागमती गाउँपालिकाको समन्वयमा कोरोनाबाट प्रभावित वडा नं. ४ का अति विपन्न सर्वसाधारण राहत उपलव्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लामाले फाउण्डेसनलाई धन्यावाद दिएका छन् ।

कोरोना महामारीका बेला फाउण्डेसनले ललितपुर जिल्लाको दक्षिण भेगका १५ वटा वडाका ८ हजार ४ सय १२ परिवारलाई राहत वितरण गरिएको फाउण्डेसनको नेपालस्थित प्रतिनिधि एवम् समाजसेवी मुकुन्द विष्टले जानकारी दिएका छन् ।

फाउन्डेसनले गोदावरी, कोन्ज्योसोम, बागमती गरेर करिब ४ हजार घरधुरीलाई खाद्य सामग्री उपलब्ध गराएको छ ।

फाउन्डेसनले बागमती गाउँपालिकाको नगरपालिका र गाउँपालिकाका अस्पताललाई भेन्टिलेटर, डिजिटल एक्सरे मेसिनसहित ३५ लाख बराबरको स्वास्थ्य सामग्री समेत सहयोग गरेको थियो ।

Published : Monday, 2021 August 2, 6:55 pm

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया