प्रतिवेदन परिस्कृत गर्न देउवाले दिए २४ घण्टाको समय
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको प्रतिवेदनलाई परिस्कृत गर्न २४ घण्टाको समय दिएको छ ।
बुधबार बुढानिकलण्ठमा बसेको कांग्रेसका पदाधिकारीहरूको बैठकले प्रतिवेदनलाई अध्ययन गर्न २४ घण्टाको समय दिएको हो । सभापति शेरबहादुर देउवाले केन्द्रीय क्रियाशील छानबिन समितिलाई क्रियाशील सदस्यताको प्रतिवेदन थप अध्ययन गरी परिस्कृत बनाएर ल्याउन आग्रह गरेका छन् ।
रमेश लेखक नेतृत्वको छानबिन समितिले सभापति देउवालाई मंगलबार क्रियाशीलको प्रतिवेदन बुझाएको थियो ।
पदाधिकारी बैठकमा क्रियाशील प्रतिवेदन अध्ययन गर्न अर्को समिति बनाउनेबारे पनि छलफल भएको थियो ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य मीनेन्द्र रिजाललगायत रहने गरी समिति बनाउने भने पनि पछि लेखक नेतृत्वकै समितिलाई २४ घण्टा समय दिइएको स्रोतले जनाएको छ ।
कांग्रेसमा क्रियाशीलबारे करिब पाँच हजार उजुरी परेका थिए । समितिले नवीकरणतर्फ ७७ जिल्लाकै र नयाँ क्रियाशीलतर्फ ७५ जिल्लाको प्रतिवेदन सभापति देउवालाई बुझाएको थियो ।
कांग्रेस पदाधिकारी बैठक बिहीबार दिउँसो २ बजे बूढानिलकण्ठमा बस्नेछ । क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीका नयाँ क्रियाशीलबारे छानबिन गरेको छैन ।
यी जिल्लाका पुराना क्रियाशीलको भने सदस्यता नवीकरण भएका छन् । कांग्रेसमा ८ लाख ५२ हजार क्रियाशील सदस्य पुगेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया