देउवा प्रधानमन्त्री हुनेवित्तिकै ६८ लाख भ्याउने यी ठूला माछाहरू फन्दामा, भ्रष्टहरूको भागाभाग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीहरूविरुद्ध मंगलबार आयोगले ६८ लाख ९३ हजार ७७८ बराबरको भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजमार्गको खोटाङ जिल्लास्थित चेनेज ४२ देखि ८८ प्लस ५०० खोटाङखण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गलत भएको पाइएको आयोगले जनाएको छ ।

ठेक्काका निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनुपर्नेभन्दा फरक व्योहोरोको विवरण पेश गरिएको उल्लेख गर्दै आयोगले इष्टिमेटविपरीत काम गराएको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।

गलत विवरण तयार पारी बिल तयार पार्ने र भुक्तानी दिएर राज्यको स्रोतको दुरुपयोग गरेको आरोपसहित आयोगले मुद्दा दायर गरेको जनाएको छ ।

आयोगले आयोजनाका तत्कालीन इञ्जिनीयर दीपककुमार खड्का, तत्कालीन सवइञ्जिनीयर गजेन्द्रप्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाँल र निर्माण व्यवसायी महादेव खिम्ती निर्माण सेवाका प्रबन्ध निर्देशक रवि सिंहविरुद्ध समान बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

सिंह नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष पनि हुन् । महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सिंहले भ्रष्टाचार गरेको अख्यिारको आरोप छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकार आएको दोस्रो हप्तामै अख्तियारले ठूला माछाहरूलाई च्याप्प पारेर अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारको यो कदमले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छ ।

Published : Tuesday, 2021 July 27, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया