कोइराला परिवारको उत्ताराधिकारी म हुँ, मलाई प्रधानमन्त्री र सभापतिमा सहयोग गर्नुपर्छः पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू कोइराला परिवारको उत्तराधिकारी रहेको घोषणा गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहानको अन्तर्वार्तामा नेता पौडेलले आफूले कोइराला परिवारका लागि ठूलो योगदान दिएको बताए ।
कांग्रेसको १४औँ महाधिवेशनमा कोइराला परिवारबाट आफूलाई सभापतिमा सहयोग हुने उनले दाबी गरे । उनले आफूलाई सभापति बनाउन सहमति हुने पनि बताएका छन् ।
‘म पनि कोइराला परिवारको हो । कोइराला परिवारको उत्ताराधिकारी हो । मैले पनि कोइराला परिवारको अनुसरण गर्दै आएको छु’, पौडेलले भने, ‘सहमति हुन्छ । मैले नै सबैभन्दा बढि कोइरालाको बिरासत थाम्न सक्छु ।’
१४औँ महाधिवेशनमा कांग्रेसका सभापतिमा शेरबहादुर देउवा उम्मेदवार नबन्न पौडेलले दवाव दिएका छन् । उनले भने, ‘शेरबहादुर देउवाजीले धेरै लोभ गर्ने होइन । प्रधानमन्त्री बन्नुभयो । सभापति बन्नुभयो । योभन्दा धेरै के चाहिएको छ ?’
कांग्रेसको नेतृत्वमा विधानअनुसार दुई कार्यकाल सभापति बन्ने अधिकार सबैलाई छ । विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइराला पनि दुई पटक सभापति बनेका थिए । उनीहरू पटक–पटक प्रधानमन्त्री बनेका थिए । तर, देउवालाई पौडेल–कोइराला समूहले सभापतिमा उम्मेदवार नबनेर छाड्नुपर्ने दवाव दिँदै आएका छन् ।
वरिष्ठ नेता पौडेलले अबको प्रतिनिधि सभा निर्वाचनमा आफूलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेर काम गर्नुपर्ने माग गरेका छन् ।
‘गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अगाडि सार्ने काम गर्नुभयो’, उनले भने, ‘कांग्रेसमा त्यो संस्कार आवश्यक छ ।’
०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईका नाममा कांग्रेसको पक्षमा बहुमत आएको थियो । भट्टराई प्रधानमन्त्री बनेका थिए । तर, गिरिजाप्रसाद कोइरालाले भट्टराईलाई राजीनामा दिन बाध्य बनाए । गिरिजाप्रसाद कोइरालाकै कारण कृष्णप्रसाद भट्टराईले कांग्रेस पार्टी छाडेर ललितपुरको बाडेगाउँस्थित आश्रममा गएर बसेका थिए ।
नेता पौडेलले १४औँ महाधिवेशनमा सभापति बन्न सत्ता र शक्तिको दुरुपयोग नगर्न देउवालाई चेतावनी दिएका छन् ।
केपी ओलीले जस्तै शक्ति लिएर बस्न नहुने उनको भनाइ छ । ‘देउवाजीमा लोभ भयो । बालुवाटारमा पार्टी र सरकार राख्ने होइन । एक व्यक्ति, एक पदको आचरणमा जानुपर्छ’, नेता पौडेले भने, ‘कम्युनिस्ट पनि लोभले गर्दा एमालेको अवस्था के भयो ?’
कांग्रेस नेता पौडेलले देउवाले पार्टीमा नटेर्ने हो भने अफ्ठ्यारो पर्ने चेतावनी दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया