यी हुन् कांग्रेसका सम्भावित नयाँ मन्त्रीहरू, गगनको सम्भावना के छ ?

काठमाडौं । नेपाली कांग्रेसमा मन्त्री बन्न नेताहरूको दौदधुप चलेको छ । मन्त्री बन्ने सबैभन्दा पहिलो पंक्तिमा स्व.गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला छिन् । सुजाताले उप–प्रधानसहितको परराष्ट्र मन्त्रालय माग गरिरहेकी छिन् ।

सुजाताले मन्त्री बन्न लबिङ गरिदिन आफ्ना भाईहरू महामन्त्री शशांक कोइराला र शेखर कोइरालासँग आग्रह गरेकी थिइन् । सुजाताले सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर उप–प्रधानसहितको मन्त्री माग गरेकी थिइन् । सुजाताले भाते बैठक राखेर मन्त्रीमा लबिङ गरेपछि कांग्रेसभित्र विभिन्न चर्चा हुन थालेको छ ।

कांग्रेसका नेताहरू नारायण खड्का, पुष्पा भुसाल, अतहर कमाल मुसलमान, बहादुरसिंह लामा, अभिषेकप्रताप शाह, मानबहादुर विश्वकर्मा, तारादेवी भट्ट मन्त्री बन्न इच्छा जनाएका छन् । उनीहरू देउवा निकटका हुन् ।

कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले उप–प्रधानमन्त्रीसहित चार वटा मन्त्रालय मागेको छ । पौडेल समूहबाट प्रकाशमान सिंह पनि उप–प्रधानसहित मन्त्री बन्न लबिङ गरिरहेका छन् ।

पौडेल समूहबाट मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा, सञ्जय गौतम, किरण यादव, तेजुलाल चौधरी, प्रमोदकुमार यादव, राजेन्द्र केसी, प्रमिला राई, प्रकाश रसाइली, बद्री पाण्डेको नाम चर्चामा छ ।

नेता कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरीको नाम चर्चामा छ । सिटौला समूहले यस पटक गगन थापालाई मन्त्रीमा सिफारिस गर्ने छैन । थापाले गुटभित्र धोका दिएको सिटौला समूहको गुनासो छ ।

उप–सभापति विजयकुमार गच्छदारले पनि मन्त्रालयमा एकजनालाई सिफारिस गर्ने चर्चा छ । गच्छदारले कसलाई सिफारिस गर्ने हुन् केही भनिएको छैन ।

उप–सभापति विमलेन्द्र निधीले पनि एउटा मन्त्रालय माग गरेका छन् । निधीसँग मन्त्री बन्ने सांसद नै छैनन् । निधीले राष्ट्रिय सभाका सांसद जितेन्द्र देवलाई आफ्नो गुटमा सामेल भएमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिन्छु भनेर प्रलोभन देखाएको चर्चा छ । जितेन्द्र देवले पर्यटन मन्त्री बन्न तोकर बसेका छन् ।

कांग्रेसबाट बालकृष्ण खाण गृह मन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट जनार्दशन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जा मन्त्री बनेकी छिन् ।

सर्वाेच्च अदालतको असार २८ गतेको फैसलाअनुसार संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री बनेका छन् ।

कांग्रेससहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका २२ सांसदसहित १६५ सांसदको समर्थन पाएका देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न चुनौती छ ।

Published : Tuesday, 2021 July 20, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया