बेलबारीको बोका–पाठी काण्डमा असम्बन्धित व्यक्तिको नाम जोडिएपछि बबण्डर

काठमाडौं । मोरङ जिल्लास्थित बेलबारी नगरपालिकाले असम्बन्धित विषयमा जोडेर समाचार प्रकाशित गर्नेदेखि अभिव्यक्तिहरू दिएपछि श्याम पाण्डेले आपत्ति जनाएका छन् ।

केही अनलाइन र पत्रपत्रिकाहरूमा नगरपालिकाका जिम्मेवारी अधिकारीका भनाइ उदृत गर्दै समाचार आएपछि पाण्डेले विरोध जनाएका हुन् ।

उनले बेलबारी नगरपालिकालाई बिहीबार पत्र लेखेर आफूविरुद्ध आएका समाचार र प्रतिक्रियाहरूका विषयमा जानकारी मागेका छन् ।

‘म ग्रो अर्गानिक फर्मको प्रतिनिधि होइन भन्ने कुरा बेलबारी नगरपालिकालाई राम्रोसँग जानकारी छ’, पाण्डेले नगरपालिकालाई पठाएको पत्रमा भनिएको छ, ‘नगरपालिकाका जिम्मेवार पदमा बस्नुभएकाहरूले मेरो चरित्र हत्या गर्ने गरेर ग्रो अर्गानिक श्याम पाण्डेको हो भनेर पटक–पटक समाचार प्रकाशित गर्नेदेखि विभिन्न फोरमहरूमा भन्ने गरेको पाइएको छ । यस विषयमा मेरो गम्भीर आपत्ति छ ।’

उनले भने, ‘म ग्रो अर्गानिकको मालिक वा प्रतितिधि केही हो भने प्रमाण सार्वजनिक गर्नुपर्छ । होइन भने तपाईहरूले जिम्मेवार पदमा बसेर कसैको मानहानी र चरित्र हत्या गर्ने कार्य गर्नु हुँदैन ।’

‘म कानूनी उपचार खोज्न बाध्य हुनेछु । साथै नगरपालिकाका जिम्मेवार पदमा बस्नुभएकाहरूले मेराविरुद्ध ग्रो अर्गानिकसँग जोडेर बोल्नुभएका कुराहरूमा माफी मागेर विज्ञप्ति निकाल्न अनुरोध गर्दछु’, पाण्डेद्वारा नगरपालिकालाई प्रेषित पत्रमा उल्लेख छ ।

यसैबीच, नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले पाण्डे र ग्रो अर्गानिक फर्मलाई जोडेर आफूहरूले कुनै पत्रपत्रिका वा अनलाइनमा समाचार नदिएको बताए । उनले भने, ‘हामीले बोल्दै नबोलेको र भन्दै नभनेको कुरा जिम्मेवार सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले किन लेख्नु हुन्छ ? अचम्मामा परेका छौँ । यो विषयमा हामी गम्भीर छौँ ।’

नगरपालिकाका प्रवक्ता सुवेदीले समाचार खण्डन गराउनु पर्ने विषयमा आफूहरू रहेको बताएका छन् ।

बेलबारी नगरपालिकाले १ करोड २४ लाखमा बोयर जातको बोका र पाठी खरिदका लागि टेण्डर आह्वान गरेको थियो । बोका र पाठी बुझेर वितरण गरिसकेपछि झुक्तानी गर्ने विषयमा विवाद भएपछि नगरपालिका कानूनी प्रक्रियामा अगाडि बढेको छ भने ठेकेदार कम्पनी पनि कानूनी प्रक्रियामा अगाडि बढ्ने तयारीमा छ ।

बोका र पाठी खरिदमा अनियमितता र भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा पनि उजुरी परेको छ । अख्तियारले पनि आफ्नो कारबाही अगाडि बढाएको छ ।

नगरपालिका स्वयंले पनि छानविन समिति बनाएको छ । नेपाली कांग्रेसहितका दलहरूले पनि बोका र पाठी खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेर दोषीलाई कारबाहीको माग गरिसकेका छन् ।

बोका र पाठी काण्डमा बेलबारी नगरपालिका नराम्रोसँग विवादमा फसेको छ ।

हुन त यो प्रकरणका विषयमा नगरपालिकाका मेयर, उप–मेयर र प्रमुख प्रशासकीय अधिकृतहरू पनि गम्भीर र सचेत भएका छन् ।

Published : Thursday, 2021 June 24, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया