शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘अल वमन हाईक’, अनुराधा र पूजा सहभागी

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा अल वमन हाईक कार्यक्रम आयोजना गरेको छ ।

‘महिला तथा बालबालिका बेचविखन, ओसारपोसार तथा सबै किसिमका हिंसा मुक्त समाज’ भन्ने नाराका साथ शनिबार कार्यक्रम आयोजना गरिएको हो ।

भारतको ७५औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा चलिरहेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत सो पैदल यात्राको आयोजना गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राकी धर्मपत्नी पूजा क्वात्रा सो कार्यक्रमको विशेष अतिथिका रुपमा रहेकी थिइन् ।

पैदलयात्रामा विभिन्न क्षेत्रका प्रबुद्ध नेपाली महिलाहरुको समेत उपस्थिति थियो ।

अनुराधा कोइरालाले स्थापना गरेको माईती नेपालसँगको सहकार्यमा दूतावासले सो कार्यक्रम आयोजना गरेको थियो ।

बेचबिखनमा परेका पीडित महिलाहरूको उद्घार, पुनःस्थापना तथा आत्मनिर्भरतामा अतुलनीय योगदान पुर्‍याउँदै आएको माइती नेपाल एक प्रतिष्ठित संस्थाको रुपमा परिचित छ ।

पूजा क्वात्राले माइती नेपालमा आश्रय लिइरहेका विश्वविद्यालय तहमा अध्ययनरत ५ र विद्यालय तहमा अध्ययनरत १० जना विद्यार्थी वा उनीहरूका नजिकका आफन्तजनका लागि भारत सरकारले प्रायोजन गरेको १५ वटा छात्रवृत्ति प्रदान गरेकी छिन् ।

Published : Saturday, 2021 March 27, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया