पहिलो लेगमा रियललाई अग्रता

म्याड्रिड । मार्को असेन्सियोले खेलको अन्तिम मिनेटमा गोल गरेपछि रियल म्याड्रिडले कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा लेगानेसविरुद्ध झिनो अग्रता बनाएको छ ।

बिहिबारको खेलमा रियलले टोलीमा थुप्रै परिवर्तन गरेको थियो । क्रिस्टियानो रोनाल्डो, गेराथ बेल र मार्सेलोलाई आराम दिइएको थियो भने करिम बेन्जेमाले ह्यामस्ट्रिङमा चोटका कारण खेल गुमाएका थिए ।

खेलको ८९ औँ मिनेटमा असेन्सियोले थियो हर्नान्डेजको क्रसमा गोल गर्दै रियललाई जीत दिलाए । रियलले अब २४ जनवारीमा स्यान्टियागो बर्नाबेउमा लेगानेसको आतिथ्य गर्नेछ ।

खेलको पहिलो हाफमा राफायल भरान र माटेको कोभाचिचले गोलको अवसर गुमाएका थिए भने रियलका डिफेन्डर मार्कोस लोरेन्टेले बल क्लियर गर्दा आफ्नै पोष्टको क्रसबारमा लागेको थियो । पछिल्ला ११ खेलमा असेन्सियोको यो पहिलो गोल थियो । यो सिजन उनले रियलका लागि ८ गोल गरेका थिए ।

बुधबार भएको पहिलो लेगका अन्य खेलमा बार्सिलोना एस्पानियोलसँग १–० ले पराजित भएको थियो भने एथ्लेटिको म्याड्रिड आफ्नै घरेलु मैदानमा सेभियासँग १–२ गोल अन्तरले पराजित भएको थियो । भ्यालेन्सियाले भने अलाभेसविरुद्ध २–१ को अग्रता बनाएको छ ।

Published : Friday, 2018 January 19, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया