कांग्रेस नेता बानियाँको घोषणाले फुटबल खेलाडीहरू मख्ख, पुलिसलाई हराइ छाडे

हेटौँडा । नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता एवम् पूर्वगृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले फुटबलका उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने भएका छन् ।

हेटौँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजक टिम मकवानपुर–११ का खेलाडीलाई कांग्रेस नेता बानियाँले जनही ५–५ हजारका दरले पुरस्कार दिने घोषणा गरेपछि खेलाडीहरूमा उर्जा थपिएको छे ।

बुधबार फाइनल प्रवेशको लागि मकवानपुर ११ ले विभागीय टिम नेपाल पुलिस क्लवसंग प्रतिस्पर्धा गरेको थियो । प्रतिस्पर्धा भइरहेका कांग्रेस नेता बानियाँले मञ्चबाटै मकवानपुर ११ टिम फाइनल पुगे सबै खेलाडीलाई जनही ५–५ हजार रुपियाँ दिने घोषणा गरेका थिए ।

बानियाँले खेलाडीलाई हौसला प्रदान होस् भनेर पुरस्कार दिने घोषणा गरेको प्रतिक्रिया दिएका छन् ।

बुधबार भएको मकवानपुर ११ र नेपाल पुलिस क्लबबीच भएको उदघाटन खेलको प्रमुख अतिथि रहेका बानियाँले फुटबलको विकासका लागि सहयोग गर्ने बताए ।

बुधबार भएको नेपाल पुलिस क्लब र आयोजक मकवानपुर ११ बीचको सेमीफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब पराजित भएको छ । मकवानपुर ११ सँग पुलिस क्लव एक–शून्य गोलअन्तरले पराजित भएको थियो ।

आयोजक मकवानपुर ११ फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल शनिबार हेटौँडामा हुनेछ ।

दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को उपाधिका लागि दाफिन्स र आयोजक मकवानपुर–११ भिड्ने भएका हुन् ।

हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै दाफिन्सले फाइनलमा आयोजकसँग भेट पक्का गरेको हो ।

दाफिन्सले थ्रीस्टारलाई टाइब्रेकरमा ५–३ गोलअन्तरले पराजित गरेको थियो । निर्धाति समय १–१ गोलको बराबरीमा टुंगिएसँगै खेलको नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।

टाइब्रेकरमा दाफिन्सका तर्फबाट एंगमा एंगोल, बिजिक बिजिक, प्रिसो एम्जाम्बे, हान्सा एसा र यानिक ओआनाले गोल गरेका थिए ।

थ्रीस्टारको तर्फबाट रञ्जित धिमाल, मान्सा र विजय धिमाले गोल गरे । भरपर्दा तथा अनुभवी खेलाडी अनिल गुरुङको प्रहार भने बाहिरिएको थियो ।

खेलको ६० औं मिनेटमा दाफिन्सको तर्फबाट यानिक ओआनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । थ्रीस्टारका रञ्जन बिष्टले ७० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । उनले दाफिन्सले धेरै फाउल खेलेको र आफूहरूले समयमै रेफ्रीलाई सजग नगराएको धेरै खेलाडी अस्पतालमा भर्ना हुने अवस्था सिर्जना हुने बताए ।

थ्रीस्टारका कप्तान एलन न्यौपानेले भाग्यले साथ नदिँदा खेलमा पराजित भएको बताए ।

दाफिन्सका टिम व्यवस्थापक आशिक थापा मगरले खेलाडीले समयमै गोल नगर्दा केही समस्या परेको दावी गरे । उनले प्रतियोगिताको फाइनलमा अझै सुधारिएको खेल खेल्ने दावी समेत गरे । उनले रेफ्रिले समयमै निर्णय लिन नसक्दा खेलमा केही तनावको अवस्था सिर्जना भएको बताए ।

प्रतियोगिताको विजेताले नगद आठ लाख रुपियाँ र उपविजेताले नगद चार लाख रुपियाँ प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टोलीको सहभागिता रहेको थियो ।

Published : Friday, 2019 March 29, 7:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया