राष्ट्रिय युवा सम्मेलन २०२६ आइतबारदेखि काठमाडौंमा सुरु हुँदै, ५ सयभन्दा धेरै युवा सहभागी हुने
काठमाडौं । युवाका सवाल, अधिकार, जिम्मेवारी, पहिचान तथा नेतृत्व विकासका विषयलाई राष्ट्रिय बहसको केन्द्रमा स्थापित गर्ने उद्देश्यसहित राष्ट्रिय युवा सम्मेलन २०२६ भोलि मंसिर १३ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको छ ।
राष्ट्रिय युवा परिषद्, गैरसरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा मंसिर १३ र १४ गते (नोभेम्बर २९ र ३०) नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सम्मेलन आयोजना हुन लागेको हो ।
सम्मेलनमा देशका सातै प्रदेशबाट ५०० भन्दा बढी युवा, युवा सञ्जाल, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघसंस्थाका नेतृत्वकर्ता, सरकारी निकाय, विकास साझेदार तथा युवासँग सरोकार राख्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
सम्मेलनको उद्घाटन युवा तथा खेलकुदमन्त्रीबाट हुने कार्यक्रम रहेको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा युवाका अधिकार, जिम्मेवारी तथा पहिचान र सम्मान लगायत युवासँग सम्बन्धित १२ वटा विभिन्न विषयगत क्षेत्रमा छलफल, अन्तरक्रिया तथा संवाद सञ्चालन गरिने आयोजकले जनाएका छन् ।
गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य विष्णु बेल्बासेले सम्मेलनबारे जानकारी दिँदै युवाका समसामयिक सवाल, अवसर, चुनौती र सम्भावनाबारे राष्ट्रियस्तरमा साझा बहस सिर्जना गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताए ।
उनले देशको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक रूपान्तरणमा युवाको भूमिका महत्वपूर्ण रहेकाले युवा आवाजलाई नीति निर्माण र निर्णय प्रक्रियासम्म पुर्याउन यस्ता साझा मञ्च आवश्यक रहेको उल्लेख गरे । युवालाई केवल कार्यक्रमका सहभागीका रूपमा सीमित नराखी विचार, नेतृत्व, नीति बहस र परिवर्तनका सक्रिय साझेदारका रूपमा स्थापित गर्नुपर्ने उनले बताए ।
बेल्बासेका अनुसार सातै प्रदेशका युवालाई एउटै मञ्चमा जोडेर अनुभव, विचार र सिकाइ आदानप्रदान गर्ने तथा साझा सवालमा सामूहिक धारणा निर्माण गर्ने सम्मेलनले अवसर प्रदान गर्नेछ । युवाका अधिकारसँगै उनीहरूको सामाजिक जिम्मेवारी, पहिचान, सम्मान र अर्थपूर्ण सहभागिताका विषयमा समेत सम्मेलनमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।
सम्मेलनको पहिलो दिन मङ्सिर १३ गते बिहान ८ बजेदेखि मानव अधिकार र्याली आयोजना गरिने कार्यक्रम रहेको छ । र्यालीमा युवा, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहनेछ । त्यसपछि सम्मेलनको उद्घाटन समारोह र विषयगत छलफलका कार्यक्रम सञ्चालन हुनेछन् ।
पछिल्लो समय युवा पलायन, रोजगारीको अभाव, उद्यमशीलता, शिक्षा, सीप विकास, सामाजिक न्याय, मानव अधिकार, जलवायु परिवर्तन तथा सार्वजनिक निर्णय प्रक्रियामा युवाको सहभागिताजस्ता विषय महत्त्वपूर्ण चुनौतीका रूपमा देखिएका छन् । यस्तो अवस्थामा युवाका साझा सवालमा राष्ट्रियस्तरको संवाद र सहकार्यलाई अघि बढाउने सम्मेलनको प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनले देशभरका युवाबीच आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, साझा दृष्टिकोण निर्माण तथा युवा सवाललाई राष्ट्रिय प्राथमिकतामा स्थापित गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
आयोजकले सम्मेलनका गतिविधि, छलफल र निष्कर्षमार्फत युवाका आवाज तथा योगदानलाई व्यापक रूपमा उजागर गर्न सञ्चारमाध्यम, नागरिक समाज र सरोकारवाला सबै पक्षलाई सहयोगका लागि आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया