वीरगञ्जको किङ क्यासिनोमा नेपालीहरूको ताँती, सईको डेञ्जर हालिमुहाली, गुमराहमा पर्साका एसपी

वीरगञ्ज । नेपालको प्रमुख ब्यापारिक शहरका रुपमा चिनिएको वीरगञ्जमा चार वटा क्यासिनो सञ्चालनमा छन् । ती चार वटा क्यासिनोमध्ये नेपालीको प्रवेश सबैभन्दा बढी होटल दियालो सिद्धार्थमा सञ्चालित किङ क्यासिनोमा बढी हुने गरेको छ ।

किङ क्यासिनोमा नेपालीलाई आकर्षित गर्न भारत र नेपालका नर्तकीहरू ल्याएर सांस्कृति कार्यक्रम गर्ने, क्यासिनोमा १ लाख रुपियाँ हार्नेलाई मसाजको ब्यवस्था गर्ने गरिएको स्रोत बताउँछ । किङ क्यासिनोले नेपालीको ताँती नै प्रवेश गराई जुवा खेलाउँदा पनि जिल्ला प्रहरी कार्यालय पर्साको दृष्टि पुग्न नसकेको गुनासो ब्याप्त छ । क्यासिनो नियमावलीमा क्यासिनोमा नेपाली प्रवेश गर्न निषेध गरेको छ ।

क्यासिनोमा नेपाली प्रवेशमा कडाइ गरिनुपर्छ । पर्सामा संचालित ४ वटा क्यासिनोहरूमा काखा र पाखाको ब्यवहार प्रहरीले गर्दै आएको आरोप छ । पर्साका क्यासिनोहरूमा प्रहरीको समान ब्यवहार हुन नसकेको देखिएको छ । हालै केही क्यासिनोमा छापा मार्ने क्रममा प्रहरीले समान ब्यवहार देखाउन नसकेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा सरुवा भएपछि एसपी पवन भट्टराईले सँगै लगी पर्सा प्रहरीको क्राइम ब्राञ्च इञ्चार्ज बनाएका प्रहरी निरीक्षक आशुतोषबहादुर शाहले किङ क्यासिनोमा नेपालीको ताँतीलाई देखेको नदेख्यै गरी अरु क्यासिनोमा भने हरेक दिन जसो छापा हान्ने, दुःख दिने गरेको आरोप छ ।

लेखापाल भएर पनि घुमुवाका रुपमा खटाइएका सई राजन खड्का र क्राइम ब्राञ्च प्रमुख शाहले एसपी भट्टराईलाई समेत गुमराहमा राखी विवादास्पद सई सागर राणाको डिजाइनमा चल्ने गरेको आरोप छ । किङ क्यासिनोमा राणाको पनि लगानी रहेको र उनकै निर्देशनमामा क्राइम ब्राञ्च प्रमुख चल्ने गरेको आरोप छ । किङ क्यासिनोका म्यानेजरदेखि कर्मचारीका अलावा हार्नेलाई लगानी गर्ने भोला कानुको मोवाइल कलडिटेल चेक गर्ने हो वा बैंकिङ कारोबार हेर्ने हो भने पनि राणासँगको कनेक्सन खुल्ने स्रोत बताउँछ ।

क्राइम ब्राञ्च प्रमुख इन्स्पेक्टर शाह सई राणाका नातेदार समेत भएकाले पर्सा प्रहरीमा एसपी भट्टराईलाई समेत गुमराहमा राखी क्यासिनोमा प्रहरीको चलखेल भइरहेको स्रोतको दाबी छ ।

किङ क्यासिनोले क्यासिनो नियमावलीअनुसार यन्त्रबाट जुवा खेलाउनुपर्नेमा म्यानुअली फिटेरै फरास, पप्लु र म्यारिज खेलाउने गरेको छ ।

इजाजतभन्दा बाहिर गएर जुवा खेलाउँदैआएको किङ क्यासिनोमा सई राणाले भोला कानुमार्फत् जुवा हार्नेलाई तुरुन्त मिटरब्याजमा पैसा लगानी गर्ने गरेको आरोप छ । घरजग्गा, गाडी धितोमा राखी कागज गरी मिटरब्याजमा जति पनि लगानी गरी नेपालीलाई जुवा खेलाउने र करोडपतिबाट रोडपति बनाउने गोरखधन्दा वीरगञ्जको किङ क्यासिनोमा हुँदा पनि पर्सा प्रहरीले बेवास्ता गरेको पीडितहरूको गुनासो छ । पर्सा प्रहरीको क्राइम ब्राञ्चकै प्रमुख र घुमुवा खड्काले राणाको डिजाइनमा किङ क्यासिनोमा भइरहेको नेपालीको निर्वाध प्रवेश र मिटरब्याजको कारोबारमा आँखा चिम्लने गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्लले पनि शाह र खड्कालाई साथ दिएको आरोप छ । मल्ल यसअघि पर्साको श्रीपुर प्रहरीको कमाण्ड सम्हालिसकेका अधिकृत हुन् ।

होटल दियालो सिद्धार्थमा संचालित किङ क्यासिनोमा मधेश प्रदेशका बारा र पर्सामा सबैभन्दा बढी कार्यरत जुनियर प्रहरी अधिकृतको समेत लगानी रहेको चर्चा छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट सूचना चुहाएर किङ क्यासिनोमा छापा मार्नुअघि नै नेपालीलाई भगाउने गरेको आरोप छ । पर्साका प्रहरी उपरीक्षक भट्टराईको निर्देशनमा वडा प्रहरी कार्यालय श्रीपुरका इञ्चार्ज प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा गएको प्रहरी टोलीले बिहीबार राति होटल सुरजमा सञ्चालित फर्च्युन सिटी गेमिङ क्लब प्रा.लि. नामक क्यासिनोमा छापामारेको थियो । उक्त कारबाहीमा ९ जना नेपाली जुवाडे र तीन जना कर्मचारी गरी १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वीरगञ्जका केही क्यासिनोमा भएको प्रहरी कारबाहीको निष्पक्षता तथा सूचना चुहावटका बारेमा पनि एकथरीले टिकाटिप्पणी गर्न थालेका छन् ।

पञ्चायतकालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले संसद् भवनमै उभिएर भूमिगत गिरोहले शासन चलाएको भन्ने गरेका थिए । पर्सा प्रहरी पनि अदृश्य रुपमा एसपी भट्टराईले होइन सागर राणाले चलाएको टिप्पणी हुन थालेको छ । उनको लगानी भएको किङ क्यासिनोमा नेपालीको ताँती जुवा खेल्न जाँदा पनि प्रहरीले देखेको नदेख्यै गरेपछि यस्तो टिप्पणी सार्वजनिक रुपमा हुन थालेको हो ।

सई राणा करीब १५ वर्ष बारा र पर्सामै कार्यरत रहेका थिए । असईदेखि वरिष्ठ सईसम्म उनी प्रायः यी दुईवटा जिल्लाका कहिले सिभिलमा त कहिले इलाका, चौकी इञ्चार्ज भएका थिए । कुनै बेला छायाँ डीआईजीका रुपमा चिनिने गरेका राणा विवादित प्रहरी अधिकृत हुन् ।

राणाको समूहले ४ वर्षअघि बीरगंज महानगरपालिका २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई कुटपिट गरेका थिए । तर, त्यसमा पनि उनी पावरकै आडमा निलम्बन हुनबाट जोगिएका थिए ।

२०७९ फागुन २९ गते अर्थात् होलीको दिन रातको ८ बजे, वीरगञ्ज महानगरपालिका वडा नं २५ का वडाध्यक्ष चतुर्वेदी वडा नम्बर ८ को एक कार्यक्रममा पुगेका थिए । सो दिन पानीट्याङ्कीस्थित डायमन्ड पार्टी प्यालेसका सञ्चालक वीरेन्द्र पटेलको छोराको जन्मदिन थियो । सो जन्मदिनको पार्टीमा भाग लिन गएका वडाध्यक्ष चतुर्वेदीलाई सई राणाको समूहले कुटपिट गरेको थियो । कुटपिटको भिडियो र सीसीटीभी फुटेज नै सार्वजनिक रुपमा सञ्चारमाध्यममा आए पनि उनलाई कारबाहीबाट उन्मुक्ति दिइएको थियो ।

किङ क्यासिनोका सुरुका लगानीकर्ता वडाध्यक्ष चतुर्वेदीले नै राणालाई उक्त क्यासिनोमा सेयरधनीका रुपमा भित्र्याएको चर्चा छ । पछि राणाको समूहले उक्त क्यासिनोबाट वडाध्यक्ष चतुर्वेदीलाई निकालेपछि उनीहरूबीच विवाद रहँदै आएको थियो ।

Published : Saturday, 2026 November 28, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया