कांग्रेसको १५औं महाधिवेशनका उपसमितिहरू गठन हुने, संयोजकहरू तोकिने

काठमाडौं । नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालालाई महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी दिइएको छ ।

बुधबार काठमाडौंको चुनदेवीमा बसेको नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समिति अन्तर्गतको केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशनको तयारीका लागि समिति गठनको जिम्मा संयोजक प्रा.डा.कोइरालालाई दिने निर्णय गरेको कांग्रेस नेता जीतजंग बस्नेतले जानकारी दिए ।

महाधिवेशन सम्पन्न गर्न व्यवस्थापन समिति, स्वयंसेवक समिति र मञ्च व्यवस्थापन समितिलगायत करीव १५/२० वटा समिति गठन गर्नुपर्ने भएकाले समिति गठन गर्ने सम्पूर्ण अधिकार महाधिवेशन संयोजक प्रा.डा.कोइरालालाई दिइएको नेता बस्नेतले बताए ।

संयोजक प्रा.डा.कोइरालाले बिहीबारसम्म निर्णय गरेपछि संयोजकहरू तोकिने र त्यसपछि उनीहरूले आफ्नो कमिटीमा सदस्य राखेर महाधिवेशनका काम अघि बढाउने बस्नेतले बताएका छन् ।

नेता बस्नेतले आफूहरू नै आधिकारिक कांग्रेस रहेको भन्दै कारवाही गर्ने अधिकार कसैलाई नरहेको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले आफू रुख चिह्नबाट निर्वाचित प्रदेश सभा सांसद रहिसकेको बताए । उनले आफूलाई कांग्रेस होइन भनेर कारबाही गर्ने क्षमता कसैसँग नरहेको बताएका छन् ।

नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुन लागेको छ । महाधिवेशन खुला मञ्चमा हुनेछ ।

Published : Thursday, 2026 November 26, 12:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया