ताईक्वाण्डो आईटीएफमा नेपाललाई ४६ स्वर्ण

काठमाडौं । ताईक्वाण्डो आईटीएफ नेपालको आयोजनामा दुई दिवसीय छैठौं एभरेस्ट खुल्ला अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौं यूनिभर्सिटी, धुलिखेलमा मंसिर ५ र ६ गते आयोजना भएको प्रतियोगितामा मलेशिया, भारत, नेदरल्याण्ड र नेपालका खेलाडी तथा अफिसियल गरी २१६ जानाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा व्यक्तिगत प्याट्रन विधातर्फ महिला तथा पुरुष गरी १९ बिधामा र व्यक्तिगत स्पाईरिङ्गतर्फ महिला र पुरुष गरी विभिन्न उमेर तथा तौल समूहमा ३६ बिधामा प्रतिस्पर्धा भएको थियो ।

प्रतिस्पर्धा ५५ स्वर्ण, ५५ रजत र ११० काश्य पदकको लागी प्रतिस्पर्धा भएको थियो । नेपालले ४६ स्वर्ण, ४६ रजत र ७१ काश्य गरी सर्वाधिक पदक जितेको छ । मलेशियाले ८ स्वर्ण, ३ रजत र ३ काश्य जितेको छ । भारतले १ स्वर्ण, ४ रजत र २ काश्य पदक जितेको छ ।

खेल सुरु हुनुभन्दा अगाडि हंसदा योग आश्रमका अध्यक्ष ऋषिकुमार पंचशीलबाट योगको आशनहरू गराइयको थियो ।

आईटीएफ ताईक्वाण्डोका अनुभवी मास्टर लक्ष्मण बस्नेतले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेल निकई व्यवस्थित र अनुशासित हुने तथा नेपालको प्राकृतिक सौन्दर्यको संस्कृति र सहयोगी भावनाका मानिसहरू भएको बताए ।

हरेक वर्ष जस्तो आयोजना हुने यस प्रतियोगिता आफू लगायत आफ्ना खेलाडीहरू सहभागिता जनाएको र आगामी प्रतियोगिताहरूमा पनि उल्लेख खेलाडीसहित सहभागिता जनाउन मलेशियाका मास्टर खो बू लियोंगले बताए ।

प्रतियोगितामा महिलातर्फ मलेशियाकी फुक एन तेंग र पुरुषतर्फ नेपालका प्रफुल घले उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगिताको समापन समारोहमा पूर्व राज्यमन्त्री डा.बिराजबहादुर बिष्ट, शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार सिद्धि बेञ्जनकार, ताईक्वाण्डो आईटीएफ नेपालका संस्थापक अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले बिजयी खेलाडीहरूलाई पदक तथा प्रमाण पत्र वितरण गर्नु भएका छन् ।

Published : Tuesday, 2026 November 24, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया