बागमती प्रदेश बुद्धिचाल छनोटको अग्रस्थानमा ललितपुर
जावलाखेल । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुनगइरहेको १०औँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्ले बौद्धिक बुद्धिचाल खेलको छनौट जारी राखेको छ ।
सोमबार सम्पन्न पाँचौं चरणको खेल सकिँदा ललितपुरका कमल श्रेष्ठ र सुरज महर्जन ४.५ अङ्क जोडेर अग्रस्थानमा रहन सफल भएका छन् । ललितपुरका कमल श्रेष्ठले क्रमशः दोलखाका विमल भण्डारी, ललितपुरका अशोक मोहन श्रेष्ठ, रत्न व्यञ्जनकार, धादिङका सुवास कुमार गुरुङलाई पराजित गर्न सफल भए । श्रेष्ठ काभ्रेका शैलेन्द्र न्यौपानेसँग बराबरी गर्दै ४.५ अंक बनाएर छनौट नजिक पुगेका छन् ।
ललितपुरका सुरोज महर्जनले सुस्त गतिको खेलमा काभ्रेका खेलाडी शैलेन्द्र न्यौपाने माथि पाउन अप हुँदै खेल आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए ।
ललितपुरका सुरज महर्जनले काठमाडौंका गोविन्द खड्का, मकवानपुरका सुन्दर कार्की, चितवनका सुदीप श्रेष्ठ र बनेपाका शैलेन्द्र न्यौपानेलाई पराजित गरेका थिए भने दोलखाका राजिव कार्कीसँग बराबरी खेलेर उक्त ४।५ अंक जोडेका हुन् ।
प्रतिस्पर्धामा चितवनका सत्यम शर्मा र ललितपुरका अशोक मोहन श्रेष्ठले समान ४ अंक जोडेर संयुक्त दोस्रो स्थान ओगटेका छन् । जसमा चितवनका सत्यम शर्माले समकक्षी चितवनका अनिस दुलाल, धादिङका तारामान श्रेष्ठ दोलखाका राजिव कार्की र काठमाडौँका मोहम्मद इमरान खानलाई पराजित गरेका थिए । उनले भक्तपुरका पुरुषोत्तम दुवाल सँग हार बेहोरेका छन् ।
ललितपुरका अशोक मोहन श्रेष्ठले ललितपुरकै समकक्षी कमल श्रेष्ठसँग एक खेलमा पराजित व्यहोर्दै काभ्रेका तीर्थलामा, चितवनका अनिस दुलाल, काभ्रेका श्याम मानन्दर र भक्तपुरका पुरुषोत्तम दुवाललाई पराजित गर्न सफल भएका थिए ।
महिलातर्फ ललितपुरका ग्लोसी श्रेष्ठले ४ दशमलव ५ अङ्क जोडेर एकल अग्रता बनाउन सफल भएका छन् । ग्लोसी श्रेष्ठले क्रमश ललितपुरकै इन्सु ओली काठमाडौंका शुभश्री श्रेष्ठ रामेछापका ओजस्वी श्रेष्ठ र चितवनका लक्ष्मी कँडेललाई पराजित गरिन् । उनले अन्तिम खेल काभ्रेका शुभेच्छा घिमिरेसँग बराबरी खेलेका थिए ।
महिलातर्फ चितवनका लक्ष्मी कँडेल र काठमाडौंका नेलिसा ओझा समान ४ अङ्क जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन् । शुभेच्छा घिमिरे र श्री तुलाधर समान ३।५ अंक तथा ओजस्वी श्रेष्ठ, इन्सु ओली, मानश्विनी शर्मा र यशस्वी महर्जन समान ३ अङ्क जोड्दै स्पर्धा मा कायम छन् ।
ललितपुरस्थित जु जु सवाः नेवारी रेस्टुरेन्ट आँगन, नखु दोबाटोमा सञ्चालन भएको बागमती प्रदेशस्तरीय बुद्धिचाल छनौट स्पर्धा क्लासिकल खेल विधातर्फ १० जिल्लाका ३७ जना पुरुष तथा ६ जिल्लाका २० जना महिला खेलाडीहरू प्रतिस्पर्धामा छन् ।
बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोटका लागि प्राविधिक संयोजक राजु ताम्राकारले क्लासिकल विधाको बाँकी दुई चरणका खेल मङ्गलबार सम्पन्न गर्ने जानकारी गराएका छन् । लगत्तै १० मिनेट ५ सेकेन्डको र्यापिड तथा ३ मिनेट २ सेकेन्ड इन्क्रिजमेन्ट ब्लिट्ज विधामा गरि जम्मा १२ जना खेलाडी छनोट गर्ने जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया