प्रधानमन्त्री शाहको भारतको उच्चस्तरीय भ्रमणको तयारी, मोदीको सन्देश हस्तान्तरण
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शाह र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता भएको प्रेस नोटमा उल्लेख छ । भेटमा प्रधानमन्त्री शाहको भारतको उच्चस्तरीय भ्रमणको तयारीका विषयमा परामर्श भएको छ ।
प्रधानन्त्री शाहको भारतको आगामी उच्चस्तरीय भ्रमणको सन्दर्भमा भारत–नेपाल सहकार्यलाई आगामी दिनहरूमा थप कसरी विकास गर्न सकिन्छ भन्ने सम्भावनाहरूमा पनि चर्चा भएको छ ।
नेपालका लागि भारतीय राजदूतावासले सामाजिक सञ्जालमार्फत् दिएको जानकारी अनुसार भेटमा प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश भारतीय विदेशसचिव मिस्रीले उपलब्ध गराएका छन् ।
प्रधानमन्त्री शाह र भारतीय विदेशसचिव मिस्रीबीच भएको छलफलमा विभिन्न द्विपक्षीय पहलहरूको कार्यान्वयनमा केन्द्रित थियो ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेशसचिव मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्रसचिव अमृतबहादुर राई, अर्थमन्त्री स्वर्णिम वाग्ले, उर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका विभिन्न नेता र उच्च तहका अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया