पार्टी ६ महिनादेखि एक वर्षभित्र ठूलो हुन्छ, फेरि थेग्न गाह्रो हुन्छ : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापाले मिशन प्रधानमन्त्री भनेर ठगेर खाएको बताएका छन् ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत काठमाडौंको बुढानिलकण्ठ नगर अधिवेशनलाई शनिबार सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘मिशन प्रधानमन्त्री भनेर हिँडेको छ । त्यही नाममा भोट मागेर ठगेर खाने ।’

‘पटक पटक प्रधानमन्त्री बनेको मान्छे गाली गर्नु हुँदैन भनेर चुप लागेर बसेको छ,’ नेता बस्नेतले भने, ‘तथानाम बोल्न हुँदैन भनेर अर्को मान्छे हिँडिरहेको छ ।’

नेता बस्नेतले पुरानो र नयाँ पुस्ता मिलेर मात्रै पार्टीको संगठन बलियो हुने बताएका छन् । उनले भने, ‘दुइटै थरी मान्छे मिलाएपछि संगठन चल्ने हो । यहाँ त बुरुक बुरुक उफ्रिएको छ ।’

‘कराएको छ । पार्टी डुबाउन लाग्यो । पार्टी बर्बाद गर्‍यो । कांग्रेस बर्बाद गर्‍यो,’ बस्नेतले भने, ‘मुलुकको अभिभावकीय पार्टी खत्तम बनायो । पुरानो पुस्ताको इतिहासलाई समाप्त पार्ने कोशिस गरियो । नयाँ पुस्ता पनि आफ्ना मात्रै, आफू मात्रै भन्ने गरियो ।’

उनले भने, ‘गुरु घिमिरेजी लगायत धेरैलाई बलिको बोका बनाउँछन् भनेर मैले भाषण गरिदिएको थिएँ । नभन्दै बलिका बोका धेरै भए ।’

नेता बस्नेतले भने, ‘अब एउटा ख्याल के गर्नुपर्ने भयो भने जानेहरू पनि फटाफट आउँदै छन् । ठूलो संख्यामा आउँदै हुनुहुन्छ । यो पार्टी ६ महिनादेखि एक वर्षभित्र कत्रो हुन्छ ? फेरि थेग्न गाह्रो हुन्छ ।’

‘नक्कली अनुहार र सक्कली अनुहार त्योभन्दा पनि दुःख परेको बेलाको अनुहार र अबसरवादका अनुहारलाई अलिअलि मिलाउन सकिएन भने बर्बाद हुन्छ,’ उनले भने, ‘त्यो कुरामा ध्यान दिनुपर्छ । दुःखमा साथ दिएकोलाई अवसर दिनुपर्छ ।’

नेता बस्नेतले भने, ‘जो लफङ्गा तालले चटक देखाएर आए जो कुरा अस्थायी हुन्छ । चटक त तान्त्रिक विद्या हो कि अरु तरिका नै हो कि । जो कसैले जामा ओढाइदिएको हुन्छ ।’

नेता बस्नेतले सहयोग पाउँदासम्म गगन थापाहरूको चुरीफुरी रहने सहयोग आउन छोड्यो भने औकात देखिने चेतावनी दिएका छन् ।

‘तपाई संसारको इतिहास हेर्नुस् । ठूला देशसँग साना देश लडिरहेका हुन्छन् । सहयोग बन्द गरिदिएपछि छैन । यहि त हो यहाँ पनि । आउनजेल त हो । त्यसपछि कहाँ हो ?,’ नेता बस्नेतले भनेका छन् ।

Published : Saturday, 2026 October 31, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया