गुल्मी कांग्रेस क्षेत्र नं. २ को अधिवेशन सम्पन्न, थापा सभापतिमा निर्वाचित

धुर्कोट । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।

शनिबार धुर्कोटस्थित हुलाकेमा सम्पन्न भएको अधिवेशनबाट कृष्णबहादुर थापा क्षेत्रीय सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेस गुल्मीका जिल्ला संयोजक बेद थापा मगरको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेसका पूर्व सभापति सुरेशचन्द्र भुसालको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनमा नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिका सभापति कृष्णप्रसाद खरेललगायत शेरबहादुर देउवा पक्षीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित सभापति थापा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् । पार्टीको राजनीतिक तथा सांगठनिक गतिविधिमा निरन्तर संलग्न रहँदै आएका थापा सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय छन् । स्थानीयस्तरमा विभिन्न सामाजिक गतिविधि तथा समाजसेवामार्फत योगदान पु¥याउँदै आएका थापाको क्षेत्रीय नेतृत्वमा चयनसँगै पार्टीको संगठनात्मक जिम्मेवारी थपिएको छ ।

अधिवेशनका क्रममा पार्टीको संगठनात्मक सुदृढीकरण, आन्तरिक एकता, कार्यकर्ताबीच आपसी समन्वय तथा आगामी राजनीतिक कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।

सहभागीहरूले पार्टीलाई जनस्तरसम्म थप सशक्त बनाउँदै संगठन विस्तार, कार्यकर्ताबीच एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

क्षेत्रीय सभापतिमा निर्वाचित थापासामु पार्टीको संगठन विस्तार, कार्यकर्ताबीच समन्वय र क्षेत्र नं. २ मा संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने जिम्मेवारी रहेको छ ।

नवनिर्वाचित सभापति कृष्णबहादुर थापालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशन सम्पन्न भएको थियो ।

Published : Saturday, 2026 October 31, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया