एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ ।
कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो ।
गुगलको सर्च इन्जिनमा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी तयार गरिने सारांशले विज्ञापनबाट हुने आम्दानीमा असर पारिरहेको कम्पनीले जनाएपछि लगानीकर्ता चिन्तित बनेका हुन् ।
माइक्रोसफ्ट र अमेजनले पनि आफ्नो व्यावसायिक प्रगतिको विवरण सार्वजनिक गरेका थिए । यी तीनवटै प्रविधि कम्पनीले एआईको प्रतिस्पर्धामा ठूलो रकम लगानी गर्ने योजना अघि सारेका छन् ।
एआईमा भइरहेको ठूलो लगानीले कम्पनीहरूको मूल व्यवसायको वृद्धि र आम्दानी क्षमतामा कस्तो प्रभाव पारिरहेको छ । यो विषयले लगानीकर्तालाई चिन्तित बनाएको देखिन्छ ।
पहिलो नजरमा अल्फाबेटको त्रैमासिक वित्तीय नतिजा कमजोर देखिँदैन । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल आम्दानी २५ प्रतिशतले बढेर १२७ अर्ब ६० करोड डलर पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया