दुई हप्तामै २ सय ३९ जना लागूऔषध कारोबारी पक्राउ
काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका–४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा ९ सय १५ किलो ६ सय ८० ग्राम सहित ३६ वर्षीय बुलबुल यादव समेत ४ जना कात्तिक १ गते पक्राउ परे । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित बारा घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा घर भएका २७ वर्षीय सुनिल सहनी कात्तिक २ गते पक्राउ परे ।
विगत १५ दिनको अवधिमा अवैध लागूऔषध सहित पक्राउ पर्ने बुलबुल यादव लगायतका व्यक्तिहरू प्रतिनिधि पात्र मात्र हुन् । नेपाल प्रहरीले यस वर्षको दशैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशभरबाट २ सय ३९ जना लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये लागुऔषध नियन्त्रण ब्यूरोबाट ३ जना, उपत्यकाबाट ४७ जना, कोशी प्रदेशबाट ३८ जना, मधेश प्रदेशबाट २४ जना, बागमती प्रदेशबाट २६ जना, गण्डकी प्रदेशबाट १२ जना, लुम्बिनी प्रदेशबाट ३९ जना, कर्णाली प्रदेशबाट १८ जना र सुदूरपश्चिम प्रदेशबाट ३२ जना पक्राउ परेका हुन् ।
पछिल्लो समयमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणमा प्रहरीले विशेष अप्रेशन सञ्चालन गरी कार्य गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले भने, ‘लागूऔषध जस्तो अन्तर्राष्ट्रिय समस्यालाई निराकरण गर्न नेपाल प्रहरी आक्रमक रूपमा प्रस्तुत भइरहेको छ । चाडपर्वको समयमा समेत लागुऔषध कारोबार हुने विभिन्न नाकाहरूमा सुक्ष्म रूपमा सूचना संलकनका साथै योजनावद्ध प्रभावकारी प्रहरी परिचालन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय भई कार्य गरिरहेको छ ।’
यो अवधिमा अवैध लागुऔषध गाँजा २ हजार ८ सय ७९ किलो ६८९ ग्राम ६८ मिलिग्राम, चरेस करीब ३६ किलो, अफिम १ किलो ३१६ ग्राम ५२१ मिलिग्राम, हेरोइन १ किलो ७७ ग्राम ९१९ मिलिग्राम, कोकिन २७ ग्राम ६७८ मिलिग्राम तथा विभिन्न किसिमका नियन्त्रित लागुऔषध समेत प्रहरीले बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया