अख्तियारद्वारा मुगु खानेपानीका हाकिमसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बुधबार आयोगले विशेष अदालत काठमाडौंमा रिमाल लगायत विरुद्ध आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले तत्कालीन कार्यालय प्रमुख रिमाल, तत्कालीन लेखापाल रुमबहादुर सेजुवाल र परामर्शदाता संस्था एलाइड इन्जिनियरिङ्ग प्रा.लि. नयाँ बानेश्वरका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको जनाएको छ ।
कार्यालयका विभिन्न खानेपानी योजनाहरूको डीपीआर निर्माणका क्रममा फर्जी कागजात खडा गरी लाखौँ रुपियाँ सरकारी सम्पत्ति हिनामिना गरेको दाबीसहित मुद्दा दायर गरिएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुले विभिन्न खानेपानी योजनाहरूको डीपीआर तयार गर्ने क्रममा प्रचलित खरिद कानूनविपरीत प्याकेजिङ गरी विभिन्न ९ वटा र ४ वटा योजनाहरू गरी कुल १३ वटा योजनाहरूको प्रक्रिया अघि बढाएको थियो ।
फर्जी मूल्यांकन समिति गठन गर्ने, समितिका निर्णय तथा कागजातहरू फर्जी बनाउने, फर्जी हस्ताक्षर गरी मूल्यांकन प्रतिवेदन तयार पार्ने र झुटा बिल–भर्पाई बनाएर भुक्तानी दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
फर्जी कार्यबाट ३९ लाख ४० हजार ३०९ रूपियाँ बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी भएको आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया