आईजीपी कार्कीद्वारा नागरिकको गुनासो सम्बोधन गरी कार्यसम्पादन गर्न मातहतलाई निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट भर्चुअल माध्यम निर्देशन दिने क्रममा आईजीपी कार्कीले नागरिकहरूको गुनासोको उचित सम्बोधन गरी सेवामा पूर्णरूपमा समर्पित भई कार्यसम्पादन गर्नुपर्ने बताए ।

नजिकिँदै गरेको दीपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा कार्कीले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।

आईजीपी कार्कीले चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताए ।

विशेष गरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी सवारी साधनको यान्त्रिक चेकजाँच, लापसे, मापसे, ओभरलोड लगायतको गतिविधि नियन्त्रणमा उनले विशेष जोड दिएका छन् । उनले यात्रुहरूको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीको साथसाथै ट्राफिक नियम सम्बन्धी चेतनामूलक सन्देश समेत प्रवाह गर्नुपर्ने बताएका छन् ।

कार्कीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्नका लागि सूचना संकलन तथा विश्लेषणमा प्रभावकारी प्रहरी परिचालन गर्न दिर्नेशन दिएका छन् ।

चाडपर्वको समयमा जुवातास, पटका लगायतका विष्फोटक पदार्थको कारोबार तथा सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न प्रहरी कर्मचारीहरू अझ सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने उनले बताए ।

आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह आईजीपी कार्कीले निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक कार्कीले काठमाडौंमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिगको सुरक्षा व्यवस्थापनमा कुनै पनि त्रुटी नहुने गरी कार्य गर्नुपर्ने उल्लेख गरेका छन् । प्रतियोगिता अवधिमा हुनसक्ने अनलाइन बेटिङ लगायतका गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको उच्चतम् प्रयोग गर्दै कार्कीले संलग्नलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।

आगामी बिहीबारदेखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गरी सम्भावित जोखिमस्थलहरूको पहिचान गरी उच्च सतर्कता अपनाई पूर्वतयारी सहित प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उनले बताएका छन् ।

विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरहरूमा रहेका महिला, बालबालिका तथा ज्येष्ट नागरिकहरूविरूद्ध हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न समेत संवेदनशील भई कार्य गर्नुपर्ने आईजीपी कार्कीले बताएका छन् ।

प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताए ।

व्यक्तिगत स्वार्थभन्दामाथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरू सामुहिक भावनाका साथ प्रतिवद्ध हुनुपर्ने उनले बताएका छन् । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानूनी दायरामा ल्याइने समेत उनले बताए ।

प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले आ–आफ्नो जिम्मेवार क्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने आईजीपी कार्कीले बताएका छन् । उनले आफू मातहतका सबै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै उत्कृष्ट कार्यसम्पादन गर्न थप नवीनतम् कार्ययोजना ल्याउन समेत आग्रह गरेका छन् ।

Published : Wednesday, 2026 October 28, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया