लुम्बिनी बचाउ अभियानका संयोजकलाई तत्काल छाड्न राष्ट्रिय जेन्जी नागरिक अभियानको माग

काठमाडौं । राष्ट्रिय जेन्जी नागरिक अभियानले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँलाई तत्काल विनासर्त रिहाइ गर्न माग गरेको छ ।
मंगलबार अभियानका प्रवक्ताले प्रेस विज्ञप्ति जारी गरेर लुम्बिनी बचाउ महाअभियानका संयोजक खाँलाई निःशर्त रिहाइको माग गरेका हुन् । लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित आनी छोइङ डोल्मालाई सरकारले नियुक्ति गरेको विषयमा आन्दोलन चलिरहेका बेला प्रहरीले सोमबार राति खाँलाई रुपन्देहीस्थित निवासबाट नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ताद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँलाई मध्यराति निवासमा सुतिरहेको अवस्थामा प्रहरी प्रशासनद्वारा धरपकड गरी गिरफ्तार गरिएको घट्नाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइड डोल्माको नियुक्तिप्रति आफ्नो असहमति र विरोध जनाएकै आधारमा शान्तिपूर्ण अभिव्यक्ति स्वतन्त्रताको हकमाथि प्रहार गर्द, मध्यराति अपराधीलाई जस्तो गरी गरिएको यो गैरकानूनी र निरंकुश कदमको हामी भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त धरपकड अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको ठाडो प्रहार हो ।’

‘अकरम खाँलाई तत्काल र निःशर्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सशक्त लोकतान्त्रिक प्रतिरोधमा उत्रन बाध्य हुने चेतावनी दिन चाहन्छौं ।’

‘यदि सरकार र प्रशासनले हाम्रा मागलाई बेवास्ता गरी संयोजक खाँलाई तत्काल रिहा नगरेमा सशक्त र कडा आन्दोलन आँधीबेहरीका रूपमा उठाइनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट उत्पन्न हुने सम्पूर्ण विषम परिस्थितिको जिम्मेवार स्वयं सरकार र स्थानीय प्रशासन हुने चेतावनी दिन चाहन्छौं ।’

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नागरिकका मौलिक हक र शान्तिपूर्ण विरोध गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्दै सरकारले देखाएको यो पञ्चायती शैलीको प्रशासनिक दमन अस्वीकार्य छ ।’

वैधानिक र लोकतान्त्रिक विरोधलाई राज्यसत्ताको बलमा दबाउने निरंकुश कार्य तत्काल बन्द गर्न पनि अभियानका प्रवक्ताले प्रेस विज्ञप्तिमार्फत् माग गरेका छन् ।

Published : Tuesday, 2026 October 27, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया