तरुण दल राष्ट्र निर्माणको अभियानमा युवाहरूको ऊर्जाको प्रतीक बनेको छ : विद्वान गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विद्वान गुरुङले नेपाल तरुण दलको ७४औँ स्थापना दिवसको पावन अवसरमा शुभकामना दिएका छन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्य गुरुङले देश तथा विदेशमा रहेका सम्पूर्ण तरुण साथीहरूमा हार्दिक बधाई दिएका हुन् ।

नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका नेता गुरुङले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक स्वतन्त्रता, सामाजिक न्याय र राष्ट्रिय परिवर्तनका हरेक ऐतिहासिक यात्रामा नेपाल तरुण दलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । लोकतन्त्रका मूल्य, मान्यता र आदर्शप्रति प्रतिबद्ध रहँदै अन्याय, विभेद र निरङ्कुशताविरुद्ध आवाज उठाउनु हाम्रो गौरवपूर्ण इतिहास हो ।’

‘यही इतिहास, संघर्ष र बलिदानको जगमा उभिएको नेपाल तरुण दल आज पनि राष्ट्र निर्माणको अभियानमा युवाहरूको आशा, भरोसा र ऊर्जाको प्रतीक बनेको छ,’ कांग्रेस केन्द्रीय सदस्य गुरुङले भने ।

‘आजको तरुण पुस्ता केवल भविष्यको कर्णधार मात्र होइन, वर्तमान परिवर्तनको संवाहक पनि हो,’ गुरुङले भने, ‘देशमा सुशासन, पारदर्शिता, रोजगारी, गुणस्तरीय शिक्षा, सामाजिक न्याय र अवसरको समानता सुनिश्चित गर्न युवाहरूको सक्रिय सहभागिता अपरिहार्य छ ।’

उनले भने, ‘समयको मागलाई बुझ्दै नयाँ सोच, नवीन ऊर्जा र सिर्जनशील क्षमताका साथ राजनीतिलाई जनताको सेवासँग जोड्नु आजको हाम्रो प्रमुख दायित्व हो ।’

‘राजनीति पद प्राप्त गर्ने माध्यम मात्र होइन, जनताको विश्वास जित्ने, समाजलाई सकारात्मक दिशामा अघि बढाउने र राष्ट्रप्रति जिम्मेवारी निर्वाह गर्ने पवित्र अभियान हो,’ नेता गुरुङले भने, ‘त्यसैले हामीले राजनीतिमा विचारको स्पष्टता, व्यवहारमा इमानदारी, नेतृत्वमा उत्तरदायित्व र संगठनमा लोकतान्त्रिक संस्कारलाई आत्मसात् गर्नुपर्छ ।’

उनले भने, ‘अग्रजहरूको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको भावना, आकाङ्क्षा र क्षमतालाई नेतृत्वमा स्थापित गर्नु आजको आवश्यकता हो ।’

‘हामीले बुझ्नुपर्छ, परिवर्तन केवल नाराले सम्भव हुँदैन, परिवर्तनका लागि साहस, सङ्कल्प, निरन्तर सङ्घर्ष र जनताप्रतिको इमानदार प्रतिबद्धता आवश्यक पर्छ,’ कांग्रेस केन्द्रीय सदस्य गुरुङले भने, ‘गाउँदेखि सहरसम्म, हिमालदेखि तराईसम्म र देशदेखि विदेशसम्म रहेका नेपाली युवाहरूलाई एउटै लोकतान्त्रिक उद्देश्यमा जोड्दै समुन्नत, समावेशी र समृद्ध नेपालको निर्माणमा जुट्नु हाम्रो साझा जिम्मेवारी हो ।’

‘नेपाल तरुण दलसँग मेरो सम्बन्ध केवल एउटा संगठनको जिम्मेवारीसँग मात्र जोडिएको छैन, यो मेरो राजनीतिक जीवन, सङ्घर्ष, सिकाइ, आत्मीयता र भावनासँग जोडिएको गौरवपूर्ण यात्रा हो,’ उनले भने ।

‘संगठनमा आबद्ध रहँदा साथ, सहयोग, विश्वास र प्रेरणा दिनुहुने सम्पूर्ण अग्रज, समकालीन साथीहरू तथा प्रिय तरुण साथीहरूप्रति म हृदयदेखि नै आभारी छु,’ उनले भने, ‘हामीले सँगै देखेका सपना, गरेका सङ्घर्ष र बोकेका आदर्शहरूलाई अझ सशक्त बनाउँदै संगठनलाई समयानुकूल, गतिशील र युवामैत्री बनाउनु हामी सबैको साझा दायित्व हो ।’

‘यस ऐतिहासिक स्थापना दिवसले नेपाल तरुण दलभित्र नयाँ ऊर्जा, आपसी एकता, सहकार्य र लोकतान्त्रिक प्रतिबद्धताको भावना थप सुदृढ बनाओस्,’ उनले भने, ‘युवाहरूको आवाजलाई सम्मान गर्ने, उनीहरूको क्षमतालाई अवसरमा रूपान्तरण गर्ने र समाजका हरेक तहमा सकारात्मक परिवर्तनको नेतृत्व गर्ने संगठनका रूपमा नेपाल तरुण दल अझ उचाइमा पुग्न सकोस् भन्ने हार्दिक कामना गर्दछु ।’

‘आउनुहोस्, इतिहासको गौरवलाई आत्मसात् गर्दै वर्तमानको चुनौती सामना गरौँ, युवाको सामथ्र्यलाई राष्ट्र निर्माणमा लगाऔँ र लोकतन्त्र, सामाजिक न्याय तथा समृद्ध नेपालको सपना साकार पार्न एकताबद्ध भएर अघि बढौँ,’ उनले भने ।

‘नेपाल तरुण दलको ७४औँ स्थापना दिवसले सम्पूर्ण तरुण साथीहरूमा नयाँ आशा, नवीन सङ्कल्प र परिवर्तनप्रतिको अटुट विश्वास जगाउन सकोस्,’ उनले भनेका छन् ।

Published : Tuesday, 2026 October 27, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया