नेपाली कांग्रेस बाग्लुङको क्षेत्रीय सभापतिमा कायत सर्वसम्मत निर्वाचित
ढोरपाटन । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बाग्लुङ जिल्लाको क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा धनबहादुर कायत (कल्याण) सर्वसम्मत निर्वाचित भएका छन् ।
ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आइतबार भएको क्षेत्रीय अधिवेशनबाट कायत सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । सभापति कायतले क्षेत्रीय कार्यसमिति पनि सर्वसम्मत बनाएका छन् ।
क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू पनि सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिमा बाँकी रहेका केही पदाधिकारी र सदस्य पछि थप गरिने नवनिर्वाचित सभापति कायतले बताएका छन् ।
क्षेत्रीय अधिवेशनको नेपाली कांग्रेस बाग्लुङका सभापति एवम् गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले उद्घाटन गरेका हुन् । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
यसैबीच, नवनिर्वाचित सभापति कायतले अधिवेशनमा सहभागी भएका क्षेत्रीय प्रतिनिधिहरू र पार्टीका नेता तथा कार्यकर्ताहरूप्रति आभार प्रकट गरेका छन् । अधिवेशन सफल बनाउन कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूबाट भएको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरेका छन् ।
ढोरपाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख समेत रहेका क्षेत्रीय सभापति कायतले भने, ‘नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन अन्तर्गत बाग्लुङ जिल्ला क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा मलाई सर्वसम्मत रूपमा चयन गर्नुहुने सम्पूर्ण आदरणीय अग्रज नेतागणहरू, क्रियाशील क्षेत्रीय प्रतिनिधिज्यूहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु ।’
‘यो विश्वास, माया र जिम्मेवारीलाई मैले पदका रूपमा मात्र नभई पार्टी, संगठन र सम्पूर्ण साथीभाइप्रतिको दायित्वका रूपमा लिएको छु,’ सभापति कायतले भने, ‘सबैलाई साथमा लिएर संगठनलाई थप सुदृढ बनाउँदै आपसी सद्भाव, सहकार्य र एकतालाई मजबुत बनाउनु नै मेरो प्रमुख प्राथमिकता रहनेछ ।’
उनले भने, ‘एकता नै हाम्रो शक्ति हो, सहमति नै हाम्रो पहिचान हो । म सधैँ एकता, सहकार्य र आपसी विश्वासको पक्षमा दृढतापूर्वक उभिइरहनेछु । नेतृत्वमा भएका अग्रज नेतागणहरुलाई पार्टी एकता बनाउन आग्रह र अनुरोध गर्नेछु ।’
‘यहाँहरूले मप्रति देखाउनुभएको विश्वासलाई कर्ममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । सबैको साथ, सुझाव र सहयोगको अपेक्षासहित पुनः हार्दिक धन्यवाद,’ सभापति कायतले भनेका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया