अमेरिकाबाट आएका १४ प्रतिनिधिले कांग्रेसलाई ६५ लाख नबुझाएरै महाधिवेशनमा ढलक-ढलक, लगाए ससुराको पावर

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिकाबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका १४ जना महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई बुझाउनु पर्ने सदस्यता शुल्क करीव ६५ लाख रुपियाँ नबुझाएरै महाधिवेशनमा सहभागी भएका छन् ।

जनसम्पर्क समिति अमेरिकाको सभापति मुनिन्द्र नेम्वाङ हुन् । तत्कालीन सभापति गोरखबहादुर विष्ट (आनन्द)लाई गगन थापा र विश्वप्रकाश शर्माले हटाएर गगन थापाका कान्छा ससुरा धनञ्जयनरसिंह केसीलाई संयोजक तोकेर नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन सम्पन्न गराएका थिए । अधिवेशनले नेम्वाङलाई सभापति बनाएको थियो ।

अमेरिकाबाट कांग्रेसको महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरू पार्टीलाई बुझाउनु पर्ने शुल्क नबुझाएरै महाधिवेशनस्थलमा झोला बोकेर यता र उता ढलक ढलक गरिरहेका छन् । अमेरिकाबाट आएकै एकजना महाधिवेशन प्रतिनिधिले नाम उल्लेख नगर्न आग्रह गर्दै आफूहरूले गगन थापाका कान्छा ससुरा र विश्वप्रकाश शर्माको पावरमा सदस्यता शुल्क वापतको करीव ६५ लाख रुपियाँ नबुझाएरै महाधिवेशनमा सहभागी भएको बताए ।

नेपाली कांग्रेसलाई सदस्यता वापतको शुल्क करीव ६५ लाख रुपियाँ बुझाउनु भयो ? भन्ने रिपब्लिका दैनिकको जिज्ञासामा सभापति नेम्वाङले भने, ‘कुरा मिल्यो ।’ पार्टीलाई सदस्यता शुल्क बुझाउनु भएकै हो ? भन्ने जिज्ञासामा नेम्वाङले भने, ‘बुझाए सरह हो ।’ त्यसो भए तपाईहरूले ६५ लाख बुझाउनु भएको छैन ? होइन त ? भन्ने जिज्ञासापछि सभापति नेम्वाङले बोल्नै चाहेनन् ।

सभापति नेम्वाङलाई पार्टीलाई सदस्यता वापतको बुझाउनु पर्ने ६५ लाख शुल्क बुझाएको रसिद वा बैंक भौचर देखाउन भन्दा आनाकानी गरेका छन् । कांग्रेसको महाधिवेशन सहभागी हुने हो भने क्रियाशील सदस्यता वापतको सबै शुल्क पहिला बुझाउनु पर्छ । नातागोता र शक्तिको आडमा आर्थिक हिनामिना गर्ने नेताहरूलाई छुट दिँदै जाने हो भने बदलिएको कांग्रेस अर्थात् २.० को के अर्थ रहन्छर ? भन्ने प्रश्न अमेरिकाबाटै आएका महाधिवेशन प्रतिनिधिहरूले नै उठाएका छन् ।

तत्कालीन समयमा महासचिव रहेका बेला हालका सभापति नेम्वाङ, तत्कालीन सभापति गोरखबहादुर विष्ट (आनन्द) र निवर्तमान संयोजक धनञ्जयनरसिंह केसी (गगन थापाका कान्छा ससुरा)लाई भूकम्पका बेला अमेरिकामा लाखौं रुपियाँ उठाएर हिनामिना गरेको आरोप लागेको थियो । त्यस बेलाको हिसाव किताव अहिले पनि अमेरिकामा बस्ने कांग्रेस निकटका नेता तथा कार्यकर्ताहरूले खोज्ने गरेका छन् ।

भूकम्पको पैसा उठाएर हिनामिना गरेपछि अमेरिकाको अदालतमा गोरखबहादुर विष्ट (आनन्द) र मुनिन्द्र नेम्वाङविरुद्ध अहिले पनि आर्थिक अपचलन गरेको भनेर आईआरएसले नेपाली जनसम्पर्क समिति अमेरिकालाई ५० हजार डलर फाईन गरेको छ ।

अमेरिकाबाट कांग्रेसको महाधिवेशनमा सहभागी हुन मुनिन्द्र नेम्वाङ, राम मिश्र, रविना थापा, बविता खनाल, दिनदयाल भण्डारी (दिनेश), उज्ज्वल खत्री, देशराज संयोग, चन्द्रशेखर यादव, टंक अधिकारी, टक रुवाली, सुभाष लामा, टुक रेग्मी, बिष्णु सुवेदी र रामजीवी पन्त आएका छन् ।

Published : Monday, 2026 October 5, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया