लुम्बिनीमा जसपा र लोसपाबीच समायोजनको कुनै निर्णय भएको छैन, कार्यक्रममा नजानु : मन्त्री पाण्डेय

मसुरिया । लुम्बिनी प्रदेशका शहरी विकास, उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री एवम् संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले तत्कालीन जनता समाजवादी पार्टी नेपाल (जसपा) र तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लुम्बिनी प्रदेश कार्यसमितिको समायोजन गर्ने निर्णय नभएको जनाएका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गरेर जसपा नेपाल लुम्बिनीका अध्यक्ष (तत्कालीन लोसपा नेपाल लुम्बिनी)का समेत रहेका पाण्डेयले जसपा र लोसपाबीच लुम्बिनी प्रदेशमा असोज १८ गते आइतबार हुने भनिएको समायोजना कार्यक्रमलाई खारेज गरिदिएका छन् ।

‘समायोजनको कार्यक्रमको सम्बन्धमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशको कुनै पनि आधिकारिक निर्णय नभएको तथा समायोजनका विषयमा दुवै दलबीच कुनै बैठक समेत नबसेको व्यहोरा तत्कालीन लोसपा नेपाल लुम्बिनी प्रदेशका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा जानकारी गराइन्छ,’ मन्त्री पाण्डेयले भनेका छन् ।

‘एकतर्फी रूपमा गर्न लागिएको उक्त समायोजन केन्द्रले जारी गरेको मापदण्ड विपरीत र गैरकानूनी रहेकोले हाम्रो घोर असहमति छ,’ लोसपाका नेता पाण्डेयले भने, ‘अतः तत्कालीन लोसपा नेपाल लुम्बिनी प्रदेशका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई उक्त कार्यक्रममा सहभागी नहुन हार्दिक अनुरोध गरिन्छ ।’

‘लोसपा नेपाल लुम्बिनी प्रदेश कार्यसमिति नीतिगत रूपमा सम्मानजनक समायोजनको पक्षमा छ । तर, विधि र विधान विपरीत हुने कुनै पनि समायोजन स्वीकार्य हुने छैन,’ पाण्डेयले भनेका छन् ।

Published : Saturday, 2026 October 3, 2:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया