कांग्रेसको आरक्षण कोटामा शीर्ष नेतृत्वबाटै कब्जा, नुवाकोटमा सीता उम्मेदवार बनेपछि दलित समुदायभित्र खैलाबैला
नुवाकोट । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता मिजार नुवाकोट क्षेत्र नम्बर १ बाट १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवार बनेपछि पार्टीभित्र आरक्षणको अभ्यास र त्यसको लाभ कसले लिइरहेको भन्ने प्रश्न फेरि उठेको छ ।
मिजार यसअघि पनि समानुपातिक कोटामार्फत प्रतिनिधिसभा सदस्य भइसकेकी छिन् । १४औँ महाधिवेशनमा पनि दलित कोटाबाट महाधिवेशन प्रतिनिधि साथै त्यसपछि कांग्रेसको विशेष महाधिवेशनबाट दलित कोटामै केन्द्रीय सदस्य निर्वाचित भएकी मिजार अहिले पुनः दलित कोटाबाटै क्षेत्रीय तहको महाधिवेशन प्रतिनिधि बन्न अघि सरेपछि तल्लो तहका दलित कार्यकर्तामाझ असन्तुष्टि देखिएको स्थानीय नेताहरूले बताएका छन् ।
दलित समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न बनाइएको आरक्षण प्रणालीको उद्देश्य अवसरबाट लामो समय बञ्चित समुदायका नयाँ नेतृत्वलाई मूलधारमा ल्याउनु हो । तर, एउटै व्यक्ति वडा तहदेखि क्षेत्र, प्रतिनिधिसभा र केन्द्रीय नेतृत्वसम्म आरक्षणकै कोटामा निरन्तर अवसर पाउने अवस्था बनेमा त्यसले आरक्षणको मूल मर्ममाथि नै प्रश्न उठाउने कांग्रेसका तल्लो तहका केही कार्यकर्ताको भनाइ छ ।
नुवाकोटका एक दलित कांग्रेस कार्यकर्ताले नाम उल्लेख नगर्ने सर्तमा भने, “आरक्षणको ढोका सधैँ एउटै व्यक्तिका लागि खुला राख्ने हो भने वडा र गाउँमा वर्षौँदेखि संगठन निर्माण गरिरहेका दलित युवाले कहिले अवसर पाउने ?”
अर्का एक कार्यकर्ताको प्रश्न छ, “नेतृत्वमा पुगिसकेका व्यक्तिलाई फेरि–फेरि आरक्षणकै कोटा आवश्यक पर्छ कि अब नयाँ पुस्ताका लागि बाटो खुला गरिनुपर्छ ?”
यद्यपि, आरक्षणको संवैधानिक र राजनीतिक उद्देश्य कुनै व्यक्तिलाई रोक्नु नभई प्रतिनिधित्व सुनिश्चित गर्नु हो । मिजारले दलित समुदायको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिन पाउने अधिकारमाथि प्रश्न नभए पनि आरक्षणको लाभ वितरणमा अवसरको न्याय, पुस्तान्तरण र नयाँ नेतृत्व निर्माण हुनुपर्ने बहस भने नुवाकोट कांग्रेसमा तीव्र बनेको छ ।
विशेषगरी वडा र स्थानीय तहमा सक्रिय रहेका दलित युवा तथा कार्यकर्ताहरूले नेतृत्वको माथिल्लो तहमा पुगिसकेका नेताहरूले समेत आरक्षणकै कोटा निरन्तर प्रयोग गर्दा आफूहरूका लागि राजनीतिक अवसर साँघुरिँदै गएको गुनासो गर्न थालेका छन् ।
अब प्रश्न सीधा छ— आरक्षणको उद्देश्य अवसरबाट बञ्चितलाई नेतृत्वमा पु¥याउनु हो कि एकपटक नेतृत्वमा पुगिसकेकालाई त्यही आरक्षणको आधारमा फेरि–फेरि अवसर सुनिश्चित गर्नु ?
नुवाकोट क्षेत्र नम्बर १ मा सीता मिजारको उम्मेदवारीसँगै उठेको यो प्रश्न एउटा व्यक्तिको उम्मेदवारीमा मात्र सीमित नरही नेपाली कांग्रेसभित्र आरक्षणको वास्तविक प्रयोग, अवसरको पुस्तान्तरण र दलित समुदायभित्र नयाँ नेतृत्व निर्माणको बहस बनेको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया