देउवालाई छाडेर गगनतिर हिँडेका केन्द्रीय सदस्य रायमाझी पराजित, केन्द्रमा उम्मेदवार बन्ने सबै बाटो बन्द

काठमाडौं । तथाकथित विशेष महाविधेशनवालाहरूले गरेको नेपाली कांग्रेसको अधिवेशनमा केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

भोजपुरबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका रायमाझी पराजित भएका हुन् । रायमाझीले खुलातर्फ उम्मेदवारी दिएका थिए । महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि रायमाझीलाई केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न बाटो बन्द भएको छ ।

रायमाझीले ४१६ मत पाएका छन् । १०औं नम्बरमा विजयी भएका वीरबल राईले ४६५ मत ल्याएका छन् । क्षेत्रीय अधिवेशनमा कांग्रेस विधानअनुसार खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुन्छन् ।

शेरबहादुर देउवा निकट मानिने नेता रायमाझी केही दिन अगाडि देउवा समूह छाडेर गगन थापा समूहतिर लागेका थिए । गगन थापा समूहको असोज ३ गतेबाट शुरु भएको १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शुरु हुनुभन्दा केही दिनअघि मात्रै देउवा समूह छाडेर गगन थापातिर लागेका थिए ।

रायमाझी शेरबहादुर देउवाको समूहबाट १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा विजयी भएका थिए । रायमाझीलाई गगन थापाले केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

Published : Thursday, 2026 October 1, 6:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया