अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय समिति गठन, असोजमा वृहत भेला

जनकपुर । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा ‘अग्रगामी मोर्चा’को मधेश प्रदेशस्तरीय बैठक जनकपुरमा सम्पन्न भएको छ ।

विभिन्न ९ वटा राजनीतिक दलहरू सम्मिलित बैठकले मोर्चाको प्रदेश समिति गठन, जिल्ला समिति गठनको जिम्मेवारी बाँडफाँट तथा आगामी रणनीतिक भेला र कार्यक्रम तय गरेको छ ।

शुक्रबार बसेको बैठकले हालै सिरहाका गणेश यादवको नेपाल प्रहरीको गोली प्रहारबाट भएको मृत्यु तथा बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

मोर्चाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दुवै घटनाका पीडित परिवारलाई अविलम्ब न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउन साथै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बैठकले मोर्चा आबद्ध घटक दलहरूबाट प्रतिनिधित्व रहने गरी मधेश प्रदेश समन्वय समिति गठन गरेको छ । जसमा जसपा नेपालबाट बालकिशोरप्रसाद यादव र रामविनोद चौधरी, जनमत पार्टीबाट गजानन्द यादव र रामप्रसाद मण्डल, आम जनता पार्टीबाट उमेश कुशवाहा र राधेश्याम साह, नागरिक उन्मुक्ति पार्टीबाट पृथ्वीनारायण सिंह थारु र नागेन्द्रप्रसाद चौधरी, नेपाल जनमुक्ति पार्टीबाट भुवन थापा मगर र रामएकवाल मण्डल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट अमिताभ बच्चन दास र किशोरी यादव, नेपाल संघीय समाजवादी पार्टीबाट विमला अंसारी र सैदर अंसारी तथा बहुजन एकता पार्टीबाट प्रकाश महरा र सुजित महरा रहेका छन् ।

बैठकले आगामी भदौ १० गतेभित्र मधेशका आठवटै जिल्लामा जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति गठनका लागि घटक दलहरूलाई जिम्मेवारी समेत तोकिएको छ । जसअनुसार सप्तरीमा जनमत पार्टी, सिरहामा बहुजन एकता पार्टी, महोत्तरीमा नेपाल जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, सर्लाहीमा नागरिक उन्मुक्ति पार्टी, रौतहटमा आम जनता पार्टी, बारमा जसपा नेपाल र आजपा, धनुषामा जसपा नेपाल र पर्सामा प्रलोपालाई जिम्मेवारी दिइएको छ ।

मोर्चाले संगठन विस्तार तथा जनपरिचालनका लागि दुई ठूला क्षेत्रीय भेला आयोजना गर्ने निर्णय गरेको छ । जसअन्तर्गत आगामी भदौ २७ गते जनकपुरमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही गरी ५ जिल्लाको संयुक्त भेला गर्ने निर्णय भएको छ ।

रौतहट, बारा र पर्सा जिल्लालाई समेटेर आगामी असोज ३ गते वीरगञ्जमा मोर्चाको वृहत् भेला आयोजना गरिने भएको छ ।

Published : Friday, 2026 August 21, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया