लुम्बिनीमा एमाले सरकारलाई दिएको समर्थन जसपाद्वारा फिर्ता, मुख्यमन्त्रीलाई झट्का

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबार जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसहित प्रदेशसभा सदस्यहरूलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएका छन् ।

महासचिव डा.झाको पत्रमा भनिएको छ, ‘नेकपा (एमाले) का नेता एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री मा. चेतनारायण आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारलाई जनता समाजवादी पार्टी, नेपालले दिएको समर्थन आजकै मितिदेखि फिर्ता लिइएको जानकारी गराइन्छ । साथै, मा.चेतनारायण आचार्यज्यूले लिनुहुने विश्वासको मतको विपक्षमा मतदान गर्न जसपा, नेपालका लुम्बिनी प्रदेश सभा सदस्यज्यूहरूलाई पार्टीको निर्णयअनुसार निर्देश गरिन्छ ।’

महासचिव डा.झाले मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न समेत लुम्बिनी प्रदेशसभाका आफ्ना सदस्यहरूलाई निर्देशन दिएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रममा लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरणमा समेत फेरबदल आएको छ ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना पाँच मन्त्रीलाई राजीनामा गराएपछि एमाले र नेपाली कम्युनिस्ट पार्टीले सत्ता सहकार्य गरेका छन् ।

एमालेले चेतनारायण आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिएको छ । आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन् ।

Published : Monday, 2026 August 17, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया