नेपाली नागरिकता परित्याग गरेका निर्मल पुर्जालाई सरकारले नेपाली भनेन, बाँकीलाई नेपाली भनेर सम्बोधन
काठमाडौं । पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा हिमपहिरोमा परी कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई)सहित १० जनाको मृत्यु भएको छ ।
गत बिहीबार गएको विनाशकारी हिमपहिरोमा परेर पुर्जासहित १० जनाको मृत्यु भएको हो । दुर्घटनामा पुर्जा र ५ जना नेपाली आरोही रहेका थिए ।
आइतबार परराष्ट्र मन्त्रालयले जारी गरेर हार्दिक श्रद्धाञ्जलि दिएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अन्य आरोहीलाई नेपाली भनिएको छ । पुर्जाको हकमा भने ‘नेपाली’ शब्द प्रयोग गरिएको छैन ।
मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित’ भन्ने भाषा प्रयोग गरिएको छ । अन्य निधन भएका आरोहीहरूलाई भने नेपाली भनेर सम्बोधन गरिएको छ ।
पुर्जाले तीन वर्षअगाडि गैरआवासीय नेपाली नागरिकता लिएका छन् । पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिने क्रममा नेपाली नागरिकता परित्याग गरेको प्रमाण पेश गरेका थिए ।
विदेशी सञ्चारमाध्यमले पुर्जालाई नेपालमा जन्मिएका बेलायती भूपू सैनिकको रूपमा उल्लेख गर्दै आएका छन् ।
बिहीबार ६ हजार ६०० मिटरको उचाइमा (क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा) गएको पहिरोमा परी नेपालका पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय आरोहण दलका अन्य चार सदस्यहरूको पनि निधन भएको थियो । यो घटनाले पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
घटनालगत्तै पाकिस्तानका सम्बन्धित निकाय र नेपाली टोलीले खोज तथा उद्धार कार्य तीव्र बनाएका थिए । मन्त्रालयका अनुसार दुर्घटनामा निधन भएका नेपालीहरूमध्य पुरबहादुर र ग्यालुको शव घटनास्थलबाट तल झारिसकिएको छ ।
बाँकी शवको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ । शवहरू स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले भनेको छ, ‘विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा मिति २०८३ साउन १४ (३० जुलाई २०२६) का दिन ६,६०० मिटरको उचाइमा (क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा) गएको विनाशकारी हिम पहिरोमा परी आरोहीहरूको दुःखद् निधन भएको छ ।’
‘यस दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा “निम्स दाइ”सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ “युक्ता”, किली पेम्बा शेर्पा “किलु”, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उहाँहरूसँगै ब्रोड पीक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद् निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको हामी सराहना गर्दछौँ ।’
‘दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ “युक्ता” र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिसकिएको छभने बाँकी शवको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको जानकारी गराइन्छ ।’
‘यस दुःखद् घडीमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया