रास्वपाको नेता वा कार्यकर्ता भए पनि हिन्दु अभियानमा लाग्न पाउँछ, धार्मिक स्वतन्त्रताको विषय हो : मनीष झा

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले धार्मिक आस्थाका आधारमा कुनै अभियानमा सहभागी हुनु व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताएका छन् ।

आइतबार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै सांसद झाले हिन्दू सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एकजना रास्वपाका सदस्य रहेको विषयलाई लिएर भएको आलोचनाप्रति प्रतिक्रियामा धार्मिक स्वतन्त्रता सबैलाई रहेको बताए ।

उनले वार्तामा सहभागी व्यक्ति रास्वपाको सदस्य भए पनि हिन्दूवादी अभियन्ताका रूपमा सक्रिय रहन पाउने अधिकार भएको बताए । झाले कुनै राजनीतिक दलको सदस्य भएकै आधारमा सरकारसँग वार्ता गर्न नपाउने भन्ने तर्क उचित नभएको बताए ।

‘हाम्रो कार्यकर्ता १५ जनामध्ये एक जना रास्वपाको सदस्य हुनुहुन्थ्यो । तर, उहाँ हिन्दूवादी अभियन्ता पनि हुनुहुन्छ,’ झाले भने, ‘त्यो उहाँको व्यक्तिगत स्वतन्त्रता हो ।’

रास्वपाका नेता झाले भने, ‘आन्दोलनलाई हिंसातर्फ लैजानुभन्दा वार्ताको टेबलमा ल्याउनु नै उचित हुन्छ ।’

रास्वपाको कुनै भ्रातृ संगठन नरहेको भन्दै नेता झाले पार्टीका सदस्यहरूले आफ्नो धर्मप्रतिको आस्था राख्न र धार्मिक अभियानमा व्यक्तिगत रूपमा सहभागी हुन पाउने बताए ।

धार्मिक आस्था र राजनीतिक सदस्यतालाई एकअर्काको विरोधाभासका रूपमा लिन नहुने उनले बताएका छन् ।

Published : Sunday, 2026 August 2, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया