गगनले कांग्रेस हाइज्याक गरेपछि नेता, कार्यकर्ताहरूको मन फाट्यो, अभियानद्वारा साउन २० गते भेला आह्वान

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ‘देश र कांग्रेस जोडने, अभियान’मार्फत् साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिएको बताएका छन् ।

आइतबार काठमाडौंमा बसेको महरसहितका कांग्रेसका केही नेताहरूको बैठकले साउन २० गते बिहान ११ः०० बजे, मिराकल पार्टी प्यालेस, सुकेधारा, काठमाडौंमा भेला राखिएको महरले बताए । भेलामा देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न तह, वर्ग र समुदायबाट प्रतिनिधित्व सुनिश्चित हुनेछ । पार्टीभित्रको आन्तरिक एकता थप मजबुत पार्न राष्ट्रिय एकता भेला आयोजना गरिएको उनले बताए ।

नेता महरले भने, ‘यो अभियान कुनै व्यक्ति, कुनै गुट वा कुनै पदका लागि होइन । यो अभियान एकताबद्ध कांग्रेस, सुदृढ लोकतन्त्र र समृद्ध नेपालको साझा संकल्प हो ।’

‘उक्त भेलाबाट पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र अभियानको आगामी कार्ययोजना सार्वजनिक गरिनेछ,’ नेता महरले बताएका छन् ।

‘कांग्रेसको मात्र होइन, लोकतान्त्रिक नेपालको भविष्यसँग जोडिएको एउटा गम्भीर विषय लिएर यहाँ उपस्थित भएका छौं,’ नेता महरले भनेका छन् ।

‘लामो समयदेखि पार्टीभित्र देखिएको मतभेद, अविश्वास र आन्तरिक किचलोले संगठनलाई कमजोर बनाएको छ,’ उनले भने, ‘आज पार्टी एकताको गम्भीर परीक्षणबाट गुज्रिरहेको छ ।’

‘नेपालको राजनीतिक इतिहासले एउटा सत्य पटक–पटक प्रमाणित गरेको छ, जब नेपाली कांग्रेस कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, जब कांग्रेस विभाजित हुन्छ, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय हितमाथि प्रतिगामी शक्तिहरू हाबी हुने वातावरण बन्छ,’ नेता महरले भने, ‘त्यसैले कांग्रेसको एकता कुनै दलगत स्वार्थको विषय होइन, यो लोकतन्त्रको रक्षा र राष्ट्रको स्थायित्वसँग जोडिएको राष्ट्रिय दायित्व हो ।’

उनले भने, ‘दुर्भाग्यवश, यतिबेला देश अनेकौं चुनौतीबाट गुज्रिरहेको छ । सुनसरीबाट शुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिँदा नेपाली नागरिकहरूले ज्यान गुमाएका छन्, अर्बौं मूल्य बराबरको धनसम्पत्तिमा क्षति पुगेको छ र नेपाली समाजको सद्भावमाथि चोट पुगेको छ । आर्थिक मन्दी, बेरोजगारी, युवाको पलायन, सुशासनको संकट र जनजीविकाका प्रश्न दिनप्रतिदिन गम्भीर बन्दै गएका छन् ।’

‘यस्ता राष्ट्रिय मुद्दामा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको जनगुनासो बढिरहेको छ,’ उनले भने, ‘अर्कोतर्फ, जनताको आवाज बुलन्द गर्नुपर्ने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि पनि चिन्ताको विषय बनेको छ ।’

‘यही परिस्थितिलाई आत्मसात् गर्दै हामीले देश र कांग्रेस जोड्ने अभियान शुरु गरेका छौं,’ नेता महरले भने, ‘हाम्रो विश्वास छ एकताबद्ध कांग्रेसले मात्र जनताको विश्वास पुनः जित्न सक्छ ’लोकतन्त्रको प्रभावकारी रक्षा गर्न सक्छ र देशलाई सही राजनीतिक दिशामा अघि बढाउन सक्छ ।’

गगन थापाले भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि देभरिका नेता तथा कार्यकर्ताहरूको मन विभाजित छ । देशभरिका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा मिलाएर लैजानुको साटो थापाले अहँकार र निरंकुश गतिविधि देखाउँदै सयौँ नेताहरू तथा लाखौँ क्रियाशील सदस्यहरूलाई अध्यावधिको नाममा कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नमिल्ने गरेर प्रतिबन्ध लगाएका छन् ।

गगन थापाले कांग्रेसलाई हाइज्याक गरेर निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कानूनी मान्यता पाए पनि लाखौँ क्रियाशील सदस्यहरूको भाँच्चिएको मनले मान्यता दिएको छैन ।

Published : Sunday, 2026 August 2, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया