जेनजी हिरोहरूलाई श्रद्धाञ्जलि थिमसहित साउन १६ गते काठमाडौं युथ कन्क्लेभ हुने

काठमाडौं । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक सहभागितालाई प्रवर्द्धन गर्दै आएको काठमाडौं युथ कन्क्लेभ (केवाईसी)को यस वर्षको संस्करण ‘जेनजी नायकहरूलाई श्रद्धाञ्जलि’ मुख्य थिमसहित कार्यक्रम हुन लागेको छ ।

आगामी साउन १६ गते शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना हुनेछ ।

आयोजकका अनुसार यस वर्षको कन्क्लेभ गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै आन्दोलनमा घाइते भएकाहरूको साहस र योगदानको सम्मान गर्दै आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुनेछन् ।

विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला हिमाल सफल आरोहण गर्नुका साथै के–टु हिमालको ऐतिहासिक शीतकालीन आरोहण गर्ने पर्वतारोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई केवाईसी युथ आइकनका रूपमा सम्मान गरिनेछ ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, कथावाचक साइग्रेस पोखरेल, डान्सर तथा मोडल कविता नेपाली, नायक पारस बम, गायक÷संगीतकार एसटी म्यान, गायक बृजेश श्रेष्ठ, उद्यमी खेम संग्रौला, कन्टेन्ट क्रिएटर कुसुम नेपाल, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले तथा हास्यकलाकार मेक्सम गौडेल लगायतको सहभागिता रहनेछ ।

कार्यक्रमको सञ्चालन प्रिया सिग्देल र जय प्रधानले गर्नेछन् । फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने कन्क्लेभको टाइटल स्पोन्सर एक्सपर्ट एजुकेशन एवम् भिसा सर्भिसेज रहेको छ । एनसेल फाउण्डेसनले कार्यक्रमलाई सहयोग गरेको छ । ग्लोबल आईएमई बैंक, रेडबुल नेपाल, खल्ती, नेशनल ल्याबप्याथ र एसीसीए क्रमशः बैंकिङ, इनर्जी, वालेट, डायग्नोस्टिक तथा एजुकेसन पार्टनरका रूपमा रहेका छन् ।

कार्यक्रममा करीब ५ हजारबढी युवा तथा विद्यार्थीहरूको सहभागिता हुने आयोजकले विश्वास लिएका छन् । कार्यक्रमको प्रत्यक्ष प्रसारण प्याराडाइम युट्युब च्यानल मार्फत हुनेछ ।

Published : Friday, 2026 July 31, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया