हिंसाबाट निकास खोज्ने प्रवृत्तिले राष्ट्र र जनताको हित हुँदैन, संयम बनौँ : कांग्रेस नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता विद्वान गुरुङले सुनसरी घटनापछि तराईका जिल्लाहरूमा देखिएका हिंसात्मक गतिविधि र अशान्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार प्रेस वक्तव्य जारी गरेर नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत रहेका गुरुङले वर्तमान परिस्थितिबाट देशलाई जोगाउन सरकारसँग आग्रह गरेका छन् । उनले जुनसुकै विषयमा असन्तुष्टि वा माग राख्ने अधिकार लोकतन्त्रमा सबैको हुने भए पनि तोडफोड, आगजनी र हिंसाबाट निकास खोज्ने प्रवृत्तिले राष्ट्र र जनताको हित नहुने बताए ।

उत्तेजनामा आएर आरोप–प्रत्यारोप गर्नुको सट्टा संयमित भएर राष्ट्रिय हितमा सोँच्नुपर्ने उनले बताएका छन् ।

नेता गुरुङले शान्ति सुरक्षाको भरपर्दो प्रत्याभूति र कानूनको कार्यान्वयन नागरिकको जीउधनको सुरक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् । उनले अराजकता र हिंसा फैलाउने जोसुकैलाई पनि निष्पक्ष रूपमा कानूनको दायरामा ल्याइनुपर्ने बताए ।

उनले सबै पक्षलाई उच्च संयमताको अवलम्बन गर्न आग्रह गरेका छन् । सुरक्षा निकाय र आम नागरिक दुवै पक्षबाट अधिकतम संयमता अपनाउनुपर्ने, र भिड नियन्त्रणका नाममा अत्यधिक शक्ति प्रयोग हुन नदिई राज्यले अभिभावकीय भूमिका निर्वाहन गर्नुपर्ने गुरुङले बताएका छन् ।

समस्याको समाधान हिंसाले नभई संवादले मात्र दिने उनले बताए । सरकारले अहंकार र जिद्दीपन छोडेर असन्तुष्ट पक्ष र सरोकारवालाहरूको जायज माग सम्बोधन गर्न तत्काल वार्ताको ढोका खोल्नुपर्ने उनले बताए ।

नेता गुरुङले जातजाति, भाषा, धर्म वा क्षेत्रका नाममा समाजलाई ध्रुवीकरण गर्ने र द्वेष फैलाउने तत्वहरूमाथि कडा निगरानी राखेर कानूनी कारबाही गर्न र नेपाली समाजको सदियौँदेखि कायम आपसी सद्भावलाई खलल पुग्न नदिन आग्रह गरेका छन् ।

उनले दलगत स्वार्थ र राजनीतिक आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर राष्ट्रिय हितलाई सर्वोपरी राखी सद्भाव, संयमता र संवादको मार्गबाट देशलाई सामान्यतातर्फ फर्काउन आग्रह गरेका छन् ।

सुनसरीमा दुई फरक धार्मिक समूहबीच भएको विवाद र द्वन्द्वका क्रममा गोली लागेर सुनसरीमा २ र सिरहामा १ गरी ३ जनाको मृत्यु भएको छ । करीव १ सयभन्दा धेरै सुरक्षाकर्मी र प्रदर्शनकारी घाइते भएका छन् ।

तराई, मधेशका जिल्लाहरूमा निरन्तर प्रदर्शन भइरहेका छन् । केही स्थानमा कर्फ्यु आदेश जारी भएका छन् । सरकारविरुद्ध निरन्तर प्रदर्शन भएका छन् ।

Published : Friday, 2026 July 31, 1:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया