संयमता, धार्मिक संहिष्णुता र सामाजिक सद्भाव कायम राखौं : कांग्रेस नेता डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले नेपाली नागरिकलाई संयमता, धार्मिक संहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर नेता डा.कोइरालाले सुनसरीसहित तराई, मधेशका विभिन्न जिल्लामा देखिएको विषम तथा तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन् । उनले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र परम्पराले सम्पन्न मुलुक भएकाले सबै समुदायबीच शान्तिपूर्ण सहअस्तित्व, धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय सहिष्णुता कायम गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

पुर्खाले विविधताबीच सामाजिक, धार्मिक तथा जातीय सद्भाव, संहिष्णुता, मेलमिलाप र भ्रातृत्वको संस्कृति विकास गरेको डा.कोइरालाले बताए । उनले यही विविधतामा रहेको एकता, पारस्परिक सम्मान र संहिष्णुताले नेपालको राष्ट्रिय पहिचान र गौरवलाई स्थापित गरेको बताएका छन् ।

कांग्रेस नेता डा.कोइरालाले नेपालीहरूबीच कुनै पनि प्रकारको वैमनस्य, विभाजन वा द्वन्द्वभन्दा प्रेम, सम्मान र भाइचाराको सम्बन्ध विस्तार गर्नुपर्ने उल्लेख गरेका छन् । उनले धार्मिक संहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।

वर्तमान संवेदनशील परिस्थितिमा नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सबै राज्य संयन्त्रले निष्पक्ष, जिम्मेवार र प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष सक्रियता देखाउनुपर्ने डा.कोइरालाले बताएका छन् ।

नेता डा.कोइरालाले स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, धार्मिक अगुवा, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरूले समाजमा विश्वास, संहिष्णुता र सद्भावको वातावरण निर्माण गर्न अग्रणी भूमिका खेल्नुपर्ने बताए ।

पूर्वमहामन्त्री समेत रहेका डा.कोइरालाले कांग्रेसका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई लोकतान्त्रिक मूल्य, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिँदै समाजमा शान्ति, संयम र भाइचाराको सन्देश फैलाउने अभियानमा सक्रिय हुन पनि आग्रह गरेका छन् ।

Published : Friday, 2026 July 31, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया