बागमतीका जनताले मुख्यमन्त्रीसँग सिधै गुनासो, समस्या र उजुरी दिन सक्ने
हेटौँडा । बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावलाई तत्काल सुनुवाइ र कार्यान्वयन गर्ने उद्देश्यका साथ ‘हेलो सिएम’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
बुधबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘हेलो सिएम डेस्क’को शुभारम्भ गरेका छन् । उनले प्रदेश सरकारलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी बनाउने अभियानको सुरुआत भएको बताएका छन् ।
मुख्यमन्त्री बानियाँले प्रदेशवासीले दैनिक जीवनमा भोग्ने समस्या, गुनासा र उजुरी अब सिधै मुख्यमन्त्री कार्यालयसम्म पुग्ने र तिनको प्रभावकारी सुनुवाइ तथा कार्यान्वयन सुनिश्चित गरिने बताए ।
उनले जनताको आवाज सरकारसम्म सहज रूपमा पु¥याई सेवा प्रवाहलाई परिणाममुखी बनाउने उद्देश्यले ‘हेलो सिएम’ सञ्चालनमा ल्याइएको बताए ।
‘सरकार जनताबाट टाढा होइन, जनताकै बीचमा हुनुपर्छ । नागरिकले उठाएका हरेक जायज गुनासा र समस्याको जिम्मेवारीपूर्वक सुनुवाइ गर्दै समाधानका लागि सम्बन्धित निकायलाई जवाफदेही बनाइनेछ,’ उनले भने ।
‘हेलो सिएम’मा प्राप्त हुने गुनासाहरूको प्रकृति अनुसार सम्बन्धित मन्त्रालय, विभाग वा निकायमा तत्काल पठाइनेछ । प्राप्त उजुरीहरूको समाधान प्रक्रिया नियमित रूपमा अनुगमन गरिनेछ । कार्यान्वयनमा आवश्यक समन्वय र सहजीकरणसमेत गरिने व्यवस्था गरिएको छ ।
मुख्यमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्बन्धित विषयहरू भने सोही कार्यालयबाट सिधै सम्बोधन गरिने जनाइएको छ ।
मुख्यमन्त्री बानियाँले जनताका समस्यालाई उच्च प्राथमिकतामा राखेर शीघ्र समाधान गर्न सम्बन्धित निकायका कर्मचारी तथा पदाधिकारीलाई निर्देशन दिएका छन् ।
प्रदेश सरकारले ‘हेलो सिएम’ लाई जनगुनासो व्यवस्थापनको प्रभावकारी माध्यमका रूपमा विकास गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने विश्वास व्यक्त गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया