प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको नैतिकतामाथि प्रश्न उठ्यो, समितिमा उजुरी
काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नैतिकतामाथि प्रश्न उठाउँदै उजुरी परेको छ ।
कार्कीविरुद्ध पाल्पाका भेषराज लुईंटेलले संसदीय समितिमा उजुरी दिएका हुन् । प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरू वाग्ले र डा. राजीव सुब्बाविरूद्ध भने उजुरी परेको छैन ।
असार १९ असारमा बसेको संवैधानिक परिषद्को बैठकले मोरङका कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । कार्की सर्वोच्च अदालतका रजिस्ट्रार समेत हुन् ।
सरकारी वकिलबाट पेसा शुरु गरेका कार्की न्याय सेवामै समूह परिवर्तन गरेर न्याय प्रशासनमा गएका व्यक्ति हुन् ।
संवैधानिक परिषद्को बैठकले पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त गुरु वाग्ले (ओखलढुङ्गा)लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो ।
दिइएको समयमा दुई वटा उजुरी परेको हो । एउटा उजुरी समग्रतामा नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।
एउटा उजुरी भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नैतिकतामा प्रश्न उठाउँदै परेको छ । कुनै पनि नागरिकले सार्वजनिक हित, राज्यको राजस्व, विदेशी मुद्रा संरक्षण तथा लाखौं उपभोक्ताको अधिकारसँग सम्बन्धित विषयमा सर्वोच्च अदालतको संवैधानिक अधिकार प्रयोग गरी न्यायको खोजी गर्दा त्यस्तो रिटलाई प्रारम्भीक सुनुवाइको अवसरसमेत नदिई दर्ता हुनबाट रोक्ने निर्णय कार्कीले गरेको भन्दै उजुरी परेको छ ।
कार्कीले सर्वोच्च अदालतको रजिस्ट्रार हुँदा गरेको व्यवहारले उनमा संविधानको धारा २४५ उपधारा (६) को खण्ड (घ) ले अपेक्षा गरेको ‘उच्च नैतिक चरित्र’को मापदण्ड पूरा नगर्ने दाबी उजुरीमा छ ।
संसदीय सुनवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरुको सुनवाइ यही साउन १२ र १३ गते गर्दैछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया