आईजीपी कार्कीद्वारा सीआईबीको प्रशंसा, १६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीआईबीले स्थापनाकालदेखि जघन्य प्रकृतिका अपराध, संगठित, आर्थिक एवम् जटिल अपराधहरूको अनुसन्धान गरेको भन्दै प्रशंसा गरेका छन् ।

शुक्रबार काठमाडौंमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को १६औं वार्षिकोत्सव समारोहमा कार्कीले सीआईबीले न्यायपूर्ण, सुरक्षित एवम् समृद्ध नेपाल निर्माणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले आगामी दिनमा केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष, विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाको रूपमा नागरिकको पूर्ण विश्वास हासिल गर्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउने शुभकामना व्यक्त गरेका छन् ।

आईजीपी कार्कीले ब्यूरोले अहिले अनुसन्धान अनि मात्र पक्राउ भन्ने अनुसन्धानको न्यूनतम मापदण्डलाई आत्मसात् गर्दै तटस्थ एवम् उच्च व्यावसायिकता प्रदर्शन गरी नागरिकको विश्वास जित्नुपर्ने बताए । उनले जघन्य, संगठित, अन्तरदेशीय, उच्च जटिल तथा आर्थिक अपराधका बदलिँदा चुनौतीलाई सम्बोधन गर्न थप प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताए ।

अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी ब्यूरोको क्षमता अभिवृद्धि एवम् अन्तर निकाय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै उत्कृष्ट अनुसन्धान निकायको रूपमा स्थापना गर्न संगठन सदैव क्रियाशील रहेको उनले बताए ।

डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय अपराधिक सञ्जाल र सीमापार अपराध अनुसन्धानमा खरो रूपमा प्रस्तुत हुँदै ब्यूरोले आफ्नो आदर्श वाक्य विश्वसनियता, निष्पक्षता र साहसलाई अक्षुण्ण रूपमा कायम गरिराख्ने विश्वास लिएको आईजीपी कार्कीले बताए ।

कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी शुभकामना मन्तव्य व्यक्त गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका छन् ।

Published : Saturday, 2026 July 18, 9:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया