दरबारमार्गका २ क्लबमा ब्यूरोको छापा, ८ किशोरीको उद्धार, २ जनालाई यौन रोग

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोले दरबारमार्ग क्षेत्रका विभिन्न क्लब तथा डान्स बारबाट ८ जना किशोरीको उद्धार गरेको छ ।

क्लब तथा डान्स बारेबाट किशोरीहरूको उद्धारमा ब्यूरोलाई माइती नेपालले पनि सहयोग गरेको थियो । ब्यूरोसँगको समन्वयमा माइती नेपालले दरबारमार्ग क्षेत्रका दुई वटा क्लब तथा डान्स बारमा छापामारेको प्रेस नोटमा उल्लेख छ ।

प्रारम्भीक अनुसन्धानका आधारमा उनीहरू व्यावसायिक यौन शोषणको जोखिम वा शोषणको अवस्थामा रहेको आशंका गरिएको माइती नेपालले जनाएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा दुई जनामा किशोरीमा भीडीआरएल पोजिटिभ देखिएको माइती नेपालले प्रेस नोटमा उल्लेख गरेको छ । भीडीआरएल धेरै व्यक्तिहरूसँग यौनसम्पर्क गर्दा महिला वा पुरुषलाई हुने यौनसम्बन्धी रोग मानिन्छ ।

माइती नेपालले ती सबै किशोरीलाई सुरक्षित आश्रय, मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार तथा कानूनी सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।

यी घटनाले धेरै प्रभावित किशोरीहरू कमजोर पारिवारिक सहयोगको सामना गरिरहेका, विद्यालय छोडेका, लत, तथा भावनात्मक र व्यवहारगत चुनौतीको सामना गरिरहेको देखाएको माइती नेपालले जनाएको छ ।

सामाजिक सञ्जाल र साथीभाइको प्रभावमार्फत जोखिमपूर्ण परिस्थितिमा आकर्षित हुने प्रवृत्ति पनि बढ्दै गएको देखिएको माइती नेपालले जनाएको छ ।

त्यसैले उनीहरूको संरक्षणका लागि परिवार, विद्यालय, समुदाय र सम्बन्धित निकाय सबैको साझा सतर्कता र सहकार्य आवश्यक रहेको प्रेस नोटमा उल्लेख छ ।

Published : Friday, 2026 July 17, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया