झण्डै दुईतिहाइको बालेन सरकारविरुद्ध काठमाडौंमा विद्यार्थी प्रदर्शन, राजीनामा माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको झण्डै दुईतिहाइको सरकारविरुद्ध प्रदर्शन भएको छ ।

बुधबार काठमाडौंको प्रदर्शनीमार्गमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले प्रधानमन्त्री शाहलाई लुसिफर भन्दै राजीनामा माग गरेका छन् ।

आफ्ना केन्द्रीय नेतृत्वसहितका विद्यार्थी नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै अनेरास्ववियुले प्रदर्शन गरेको जनाएको छ ।

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध प्रदर्शन गर्दा आफ्ना विद्यार्थी नेताहरूलाई पक्राउ गरेको भन्दै अनेरास्ववियुले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको विद्यार्थी नेताहरूले बताएका छन् ।

हातमा प्लेकार्ड बोकेर सडकमा उभिएका विद्यार्थीका नेता तथा कार्यकर्ताहरूले गरिबमारा सरकार राजीनामा दे, मलाई बोल्न दे सरकार, नालायक सरकार राजीनामा दे, लुसिफर तेरो पाराले दुःखपाए साराले, दलाल सरकार होसीयार लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । यसअघि बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध प्रदर्शन गर्दा प्रहरीले केही अखिल आबद्ध विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको थियो ।

Published : Wednesday, 2026 July 15, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया