सीआईबीद्वारा ४८ करोड कर्जा रकम दुरुपयोग प्रकणमा अध्यक्ष शर्मालाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कर्जा रकम दुरुपयोगसम्बन्धी कसूरमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई पक्राउ गरेको छ ।

मंगलबार सीआईबीको टोलीले ५८ वर्षीय शर्मालाई काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

शर्माले रिसोर्ट निर्माण र जग्गा खरिदका लागि बैंकबाट ४८ करोड कर्जा लिएकामा उक्त कम्पनीले आफ्नै समूहको अन्य ऋणी कम्पनीको बक्यौता तिरी कर्जा रकम दुरुपयोग गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

कर्जा दुरुपयोग गर्न नहुने कसूर गरेको निष्कर्ष निकाल्दै नेपाल राष्ट्र बैंकले शर्माविरुद्ध थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो ।

शर्मामाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटनबाट मंगलबार अनुमति लिई पक्राउ गरिएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिएका छन् ।

Published : Tuesday, 2026 July 14, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया