एमाले निकट बिचौलियामाथि अनुसन्धान गर्न माग, कांग्रेस सांसदद्वारा आरोपहरूको खण्डन
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले रितेश शर्मामाथि भएको घटना प्रकरणमा आफूलाई लगाइएको आरोप झूठ्ठा रहेको भन्दै खण्डन गरेका छन् ।
सोमबार विज्ञप्ति जारी गरेर कांग्रेस संसदीय दलका उपनेता समेत रहेका शाहले कृष्णानगर नगरपालिका वडा नं. २ मा रितेश शर्मामाथि केही युवाहरूद्वारा कुटपिट भएको घटनामा आफूलाई जोडिएको विषयको खण्डन गरेका हुन् ।
एमालेका कार्यकर्ता समेत रहेका बिचौलिया रितेशले कांग्रेसका सांसद शाहले कुटपिट गरेको भनेर केही सञ्चारमाध्यममा भ्रामक समाचारहरू लेखाएका छन् । प्रहरीका साथै केही उच्च अधिकारीहरूसँग तस्बिर खिचाएर कृष्णनगर क्षेत्रमा बिचौलियाको गतिविधि गर्दै आएका रितेशले आफ्नो चरित्रहत्या गर्न खोजेको र हुँदै नभएको आरोप लगाएको भन्दै सांसद शाहले कडा आपत्ति जनाएका छन् ।
‘मेरो संलग्नता रहेको भन्दै झुठ्ठा, मनगढन्ते र गम्भीर आरोपहरू लगाइँदैछ । म यी सबै भ्रामक र निराधार आरोपहरूको कडा शब्दमा र पूर्ण रूपले खण्डन गर्दछु,’ सांसद शाहले भनेका छन् ।
शाहले भने, ‘यथार्थ के हो भने, जब मैले यस विवाद र झै–झगडाको जानकारी पाएँ, तब समाजको एक जिम्मेवार जनप्रतिनिधि भएको नाताले मैले त्यहाँ पुगेर बीच–बचाउ गर्नु आफ्नो कर्तव्य सम्झिएँ ।’
‘मैले तुरुन्त घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएँ । मैले नै ती युवाहरूलाई त्यहाँबाट हटाएँ र यस्तो हिंसात्मक कार्य नगर्न सम्झाइबुझाइ गरेर फिर्ता पठाएँ,’ सांसद शाहले भने, ‘मेरोतर्फबाट शान्ति स्थापना गर्न गरिएको यस सकारात्मक प्रयासलाई केही मानिसहरूद्वारा नियोजित रूपमा गलत तरिकाले प्रस्तुत गरिँदैछ ।’
उनले भने, ‘म यो पनि स्पष्ट पार्न चाहन्छु कि रितेश शर्माको केपी शर्मा ओलीसँग अत्यन्त नजिकको साँठगाँठ रहेको छ । विगतको चुनावमा पनि निजले केपी शर्मा ओलीसँग मिलेर मेरो विरोधमा थुप्रै कार्यहरू गरेका थिए ।’
‘चुनावमा आफूले चाहेजस्तो नभएको र मेरो राजनीतिक सफलताको त्यही रिस र पूर्वाग्रह अहिले ममाथि यसरी झुटो आरोप लगाएर निकाल्ने कुत्सित प्रयास गरिँदैछ,’ सांसद शाहले भने ।
‘यति मात्र नभई, रितेश शर्माले नेपाल प्रहरीका उच्च पदासीन अधिकारीहरूसँग खिचिएका फोटोहरू देखाएर सर्वसाधारण र व्यापारीहरूलाई तर्साउने तथा अनुचित प्रभावमा पार्ने काम गर्दै आएका छन्,’ शाहले भने, ‘एक/दुई पटक उनीहरूलाई भेटेको भरमा ती उच्च पदस्थ व्यक्तिहरूको नाम भजाएर म यो काम गर्दिन्छु, त्यो काम मिलाइदिन्छु भन्दै डर त्रास र प्रलोभन देखाउने तथा तिनै फोटोहरूको धाक लगाएर स्थानीय व्यापारीहरूसँग जबर्जस्ती चन्दा असुल्ने जस्ता गैरकानूनी कार्यहरूमा समेत उनी संलग्न रहँदै आएका छन् ।’
‘यस्तो अवाञ्छित पृष्ठभूमि भएको व्यक्तिले आफ्ना हर्कतहरू लुकाउन र मेरो राजनीतिक छविलाई धमिल्याउन रचेको यो एउटा षड्यन्त्र मात्र हो,’ सांसद शाहले भने ।
‘एक जनप्रतिनिधिको रूपमा मेरो प्राथमिकता सधैँ क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम राख्नु रहेको छ,’ सांसद शाहले भने, ‘मेरो प्रशासन र प्रहरी विभागसँग यो स्पष्ट माग छ कि यस सम्पूर्ण घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरियोस् ।’
कांग्रेस सांसद शाहले भने, ‘कुटपिटमा संलग्न वास्तविक दोषीहरूमाथि कारबाही हुनुका साथै उच्च पदस्थ अधिकारीहरूको फोटो र नाम दुरुपयोग गरी व्यापारीहरूलाई धम्क्याएर चन्दा असुली गर्ने कार्य र मेरोविरुद्ध भ्रामक हल्ला फैलाउनेहरूको पनि सत्यता उजागर गरी कडा कानूनी दायरामा ल्याइयोस् ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया