डाँका मुद्दामा जेल बसेर छुटेका श्रेष्ठको भरतपुरमा शंकास्पद गतिविधि, नागरिकतामा पनि आशंका

भरतपुर । डाँकाचोरी मुद्दामा कैद सजाय भुक्तान गरी जेलबाट छुटेका सुरेश श्रेष्ठले आफूलाई सुधार गरेर जानुको साटो चितवनमा सत्तापक्षका नेता र हाइलेबलका व्यक्तिहरूसँग सम्बन्ध छभन्दै डरत्रास र धम्कीको गतिविधि गर्न थालेका छन् ।

चितवनको रत्ननगर नगरपालिकामा कफीशप सञ्चालन गर्दै आएका श्रेष्ठको शंकास्पद गतिविधि गर्ने व्यक्तिहरूसँग सम्पर्कमा रहेको आरोप छ । अहिले पनि श्रेष्ठले भरतपुरमा शंकास्पद गतिविधि गर्दै आएको आरोप छ । शंकास्पद गतिविधिका कारण श्रेष्ठको नागरिकताको प्रथम प्रतिलिपि माथि पनि छानविनको माग उठेको छ ।

हाइलेबलका व्यक्ति र नेताहरूसँग सम्पर्क छभनेर श्रेष्ठले व्यक्तिहरूलाई प्रभावमा पार्ने गरेको आरोप छ । लामो कैद सजाय काटेर छुटेको हुँदा श्रेष्ठमाथि प्रहरीले पनि उच्च निगरानी राख्दै आएको एक प्रहरी अधिकृतले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख (एसपी) रामेश्वर पौडेलले भने, ‘चितवन जिल्लामा हुने कुनै पनि शंकास्पद व्यक्ति, समूह वा गतिविधिमाथि प्रहरीको निगरानी रहन्छ । कानून विपरीत जाने छुट कसैलाई छैन ।’

लामो समय डाँकाचोरी मुद्दामा जेलमा बसेर सजाय काटेर आएका श्रेष्ठका पछिल्ला गतिविधि झन् शंकास्पद रहेको स्थानीयले बताएका छन् । कफीशपमा सरकारका मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हाइलेबलका नेताहरू, उच्च तहका प्रहरी र कर्मचारीहरूसँग सम्बन्ध छभनेर डरधम्की दिने गरेको आरोप छ । यो आरोपलाई श्रेष्ठले सिधै खण्डन गरेका छन् । उनले आरोप अस्वीकार गरेका छन् ।

श्रेष्ठका गतिविधिका विषयमा प्रहरी प्रशासनसमक्ष पीडितहरूले मौखिक जानकारी गराइसकेका छन् । आवश्यक पर्‍यो भने लिखित र मौखिक उजुरी दिने तयारी गरेको एक पीडितले बताए ।

रिपब्लिका दैनिकसँग श्रेष्ठले आफूमाथि लागेको आरोपका विषयमा कुनै पनि सत्यता नरहेको बताएका छन् । उनले आफू कैद सजाय भोगेर धेरै पहिला छुटेर आएको स्वीकार गरे । श्रेष्ठले भने, ‘मैले कसैलाई पनि ठगी गरेको छैन । झुठ बोलेको छैन । गलत गरेको छैन । हाइलेबलका व्यक्तिसँग सम्पर्कमा छुभनेर कहिँकतै केही भनेको छैन । मेरोविरुद्ध लाग्नेहरूलाई चिनेको छु ।’

तनहुँ जिल्ला अदालतको फैसला र पत्रमा श्रेष्ठको नाम ‘सुरेश श्रेष्ठ’ उल्लेख छ । श्रेष्ठले शुरुमा नुवाकोटबाट ना.प्र.नं. ९४४९३ को नागरिकता लिएका हुन् ।

त्यसपछि श्रेष्ठले चितवन जिल्ला प्रशासन कार्यालयबाट २०८१ फागुन १ गते नागरिकता प्रमाणपत्रको प्रथम प्रतिलिपि लिएका छन् । प्रतिलिपिमा ‘सुरेशकुमार श्रेष्ठ’ नाम उल्लेख छ । स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीहरूसँगको मिलोमतोमा श्रेष्ठले प्रथम प्रतिलिपिमा ‘कुमार’ थप गरेको हुन सक्ने आशंका छ । श्रेष्ठको नागरिकतामा कसरी ‘कुमार’ थप भयो ? खोजविन हुनुपर्ने माग उठेको छ ।

अदालतमा डाँकाचोरी मुद्दा चल्दाखेरीको नाम, पारिवारिक विवरण र ठेगाना हेर्दा ‘सुरेश श्रेष्ठ’को नामबाट आपराधिक विवरण देखिए पनि २०८१ फागुन १ गते चितवनबाट जारी भएको प्रथम प्रतिलिपिअनुसारको नाम ‘सुरेशकुमार श्रेष्ठ’मा आपराधिक विवरण देखिदैन ।

Published : Monday, 2026 July 13, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया