वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम लिएर फरार चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० बस्ने नवलपरासीको सुस्ता गाउँपालिका–१ घर भएका २३ वर्षीय सन्देश चौधरी, नवलपरासीको देवचुली नगरपालिका–५ घर भएका ५३ वर्षीय भगवतप्रसाद थारू, ललितपुर महानगरपालिका–२६ बस्ने चितवनको भरतपुर महानगरपालिका–४ घर भएका ४० वर्षीया सरस्वती बारघरे र काठमाडौं महानगरपालिका–२९ बस्ने ३७ वर्षीय विकास दाहाल रहेका छन् ।

पक्राउमध्ये सन्देशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपियाँ, भगवतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख रूपियाँ, सरस्वतीले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपियाँ र विकासले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ९२ हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले सन्देशलाई काठमाडौं महानगरपालिका–३ बाट र भगवतलाई काठमाडौं महानगरपालिका–४ बाट बुधबार तथा सरस्वतीलाई ललितपुर महानगरपालिका–२६ बाट र विकासलाई काठमाडौं महानगरपालिका–६ बाट बिहीबार पक्राउ गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Friday, 2026 June 26, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया