कांग्रेस नेता थापाद्वारा कार्यकारी प्रमुख, गैरदलीय स्थानीय तह निर्वाचन र संघीयताबारे रास्वपाको प्रस्तावको विरोध

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनीषजंग थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र स्थानीय तहको निर्वाचन गैर दलीय बनाउने प्रस्ताव अलोकतान्त्रिक रहेको टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत युवा नेता थापाले रास्वपाले भरतपुर महाधिवेशनमा गरेको प्रस्तावहरूका बारेमा बदलिएको २.० कांग्रेसको धारणा माग गरेका छन् । उनले संघीयतामाथि रास्वपाले बक्रदृष्टि राखेको भन्दै विरोध पनि गरेका छन् ।

थापाले भने, ‘संविधान संशोधनको नाममा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख ल्याउने प्रयास नेपाल र नेपाली जनताको हितमा कदापि छैन । समावेशी लोकतन्त्रको मर्ममाथि प्रहार गर्ने, संघीयताप्रति वक्रदृष्टि राख्ने तथा गैरदलीय स्थानीय तहको अभ्यासतर्फ देशलाई धकेल्ने कुनै पनि प्रयास स्वीकार्य हुन सक्दैन ।’

‘यस्तो गम्भीर र संवेदनशील विषयमा नेपाली कांग्रेसको मौनता पनि उत्तिकै चिन्ताजनक छ,’ थापाले भने, ‘लोकतन्त्र, संविधान, समावेशीता, संघीयता र राष्ट्रियताको रक्षाका लागि सबै सचेत बनौं, खबरदारी गरौँ ।’

‘इतिहासको त्यो पाना २०१८ को भरतपुर विद्रोह । राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि नेपाली कांग्रेसले २०१८ साल माघ २६ गते भरतपुर कब्जा गरेको थियो । त्यसको ४८ घण्टापछि (माघ २८ गते) तत्कालीन शाही सेनाले क्रूर दमन गर्दै विद्रोहमा उत्रिएका थुप्रै देशभक्त नेपालीहरूको सामूहिक हत्या (नरसंहार) ग¥यो । आज हामी जुन स्वतन्त्रताको उपयोग गरिरहेका छौँ, त्यो यिनै वीर शहीदहरूको रगत र लासमाथि उभिएको छ,’ नेता थापाले भने ।

‘इतिहासलाई कहिल्यै नभुलौँ तर, आज निर्वाचन आयोगले स्थानीय तहमा गैरदलीय निर्वाचन गराउने प्रस्ताव गरेको छ,’ उनले भने, ‘यस विषयमा नेपाली कांग्रेसको आधिकारिक धारणा के हो ।’

Published : Thursday, 2026 June 25, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया