प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, प्रभावकारी प्रहरी परिचालन गर्न आईजीपीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको उपस्थितिमा प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३ सम्पन्न भएको छ ।

बुधबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित समीक्षा सम्मेलनबाट आउने विषयवस्तु र प्राप्त सुझावहरू एवम् निचोडहरू प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण हुने आईजीपी कार्कीले बताए । नेपाल सरकारको प्राथमिकताका विषयहरूलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप संविधान तथा प्रचलित कानूनले निर्दिष्ट गरेको जिम्मेवारी प्रति निष्पक्ष रही उच्च व्यावसायिकताका साथ कार्यसम्पादन गर्न प्रहरी कर्मचारी सदैव प्रतिबद्ध हुनुपर्ने उनले बताए ।

कार्कीले सम्मेलनमा सहभागीहरूले राखेको जिज्ञासाहरूको निरूपण गर्दै अपराधको स्वरूप एवम् प्रवृत्तिको परिवर्तनले थप चुनौतीहरू देखा परेको बताए । संगठित अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन, आर्थिक अपराध, सामाजिक संजालको दुरूपयोग गरी गलत सूचना, मिथ्या सूचना प्रवाह गर्ने लगायतका आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन प्रहरी थप क्रियाशील हुनुपर्ने बताएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूविरूद्ध हुने अपराध प्रति संवेदनशीलता अपनाई पीडितमैत्री व्यवहारका साथ सम्बोधन गर्नुपर्ने बताउँदै उनले अपराध नियन्त्रण एवम् अनुसन्धानमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखी समुदायसँग समन्वय गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए ।

सम्मेलन मार्फत विगतको अनुभव, सूचना संकलन, असल अभ्यासहरू, स्रोतसाधन तथा प्रविधिको प्रयोग, अन्तर सुरक्षा निकाय बिचको आपसी समन्वय लगायतमा अनुभवको आदान–प्रदान र सम्मेलनबाट प्राप्त भएका सुझाव एवम् निष्कर्षहरू आगामी दिनमा कार्यक्षेत्रमा अवलम्बन गर्नुपर्ने कार्कीले बताए ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदी र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, संचार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसरहरू काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्यसँग सम्बन्धित विभिन्न विषयवस्तुहरूमा प्रस्तुतीकरण गरेका छन् ।

Published : Wednesday, 2026 June 24, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया