प्रभु बैंकको १६ करोड कर्जा हिनामिना प्रकरणमा मेडिकल कलेजका पाण्डे जेल चलान

काठमाडौं । प्रभु बैंकको कर्जा हिनामिना प्रकरणमा पक्राउ परेका जानकी मेडिकल कलेजका सञ्जालक ओमप्रसाद पाण्डे जेल चलान भएका छन् ।

बैंकिङ कसूरको मुद्दामा उच्च अदालत, पाटनले बुधबार पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीशहरू टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको इजलासले थुनामा पठाउने आदेश दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले पाण्डेसहित १२ जनाविरुद्ध सोमबार बैंकिङ कसूर मुद्दा दायर गरेको थियो । पाण्डे पक्राउ परेकोमा अन्यलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

राम जानकी हेल्थ फाउन्डेसनलाई दिइएको कर्जा दुरुपयोग भएको विषयमा मुद्दा दायर भएको छ । बैंकले सो कम्पनीलाई १६ करोड कर्जा दिएको थियो । सेल कम्पनी खडा गरी कर्जा दिइएको सीआइबीले जनाएको छ ।

बैंकका तत्कालीन सीइओ अशोक शेरचनसहित मणिराम पोखरेल, रिवश श्रेष्ठ, रश्मी पन्तलाई प्रतिवादी बनाइएको छ । राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष पाण्डेसहित रिभान लामा, धनबहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेशकुमार तिवारी र हरिकृष्ण भट्टचनलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रभु बैंकको कर्जा हिनामिनामा मंगलबार थप दुईवटा बैंकिङ कसुरको मुद्दा पनि उच्च अदालत पाटनमा दर्ता भइसकेको छ । बैंकको कर्जा हिनामिनामा सीआइबीले करिब ८ महिना लामो अनुसन्धान गरेर मुद्दा दायर गरेको छ ।

Published : Wednesday, 2026 June 24, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया